सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा ठेलीको लफडा, कहाँ भागे दोषीहरु?

२०८० माघ १५, ०३:४८ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा टिकट ठेलीको लफडा बढ्दै गएको छ।

नक्कली टिकट ठेली छनबिनमा सहयोग स्वरुप दबाब दिन भन्दै संघर्ष समिति नै गठन गरिएको छ। नक्कली टिकट ठेलीको विषय इलाका प्रहरी कार्यालय मालाखेती, जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालयसम्मै पुगेको छ। अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा टिकटका ठेली नक्कली फेला परेका थिए।

नक्कली ठेली फेला पर्ने वित्तिकै सत्यतत्य सहजै रुपमा छानबिन गर्न सकिने भए पनि यो विषयलाई जबरजस्त रुपमा बिवादमा तान्ने र कतिपयका लागि राजनीतिक मसला नै बनेको छ। महोत्सव आयोजक कमिटी नै यही विषयका कारण दुई भागमा विभाजन हुन पुगेको छ। ठेलीकै लफडाका कारण प्रायः उद्योग वाणिज्य संघका सल्लाहकारहरुले राजीनामा दिएको विषय पनि चर्चामै छ। कार्य समितिका सदस्य पनि दुई कित्तामा विभाजन छन्।

नक्कली भनिएका ठेलीहरु छानबिन गर्न प्रहरीलाई बुझाइएको छ। यता प्रशासनमा पनि छानबिन गर्न भन्दै ज्ञापनपत्र बुझाइएको छ। उता टर्चलाइट बालेर मात्र नभएर हस्ताक्षर अभियान पनि चलाइएको छ। तर पनि दोषीहरु कहाँ भागे कुनै अत्तोपत्तो छैन्। त्यहाँको स्थानीय सरकारले यो विषयमा ठोस प्रतिक्रिया जनाएको छैन्। सबैले दोषी पत्ता लगाउ मात्र भन्ने विषय चर्चामा छ।

हुन त यो निजी क्षेत्रले आयोजना गरेको व्यवसायीक फाइदाका लागि गरिएको महोत्सव हो। तर पनि जबरजस्त रुपमा यो विषयमा राजनीतिक गन्ध दिने गरी सामाजिक सञ्जालमा समेत आ–आफ्नै तरिकाले टिकाटिप्पणी भइरहेका छन्। चोर पत्ता लगाउनेभन्दा को हिरो बन्ने भन्ने विषय नक्कली ठेली प्रकरणमा देखिएको छ। कुनै व्यवसाय नै नभएकाहरु उद्योग वाणिज्य संघको सदस्य नभएका पनि होइनन्।

निष्पक्ष रुपमा संघ आफैले छानबिन गर्न चाहने हो भने सहजै तुरुन्तै दोषी पत्ता लाग्न सक्छ। यसका लागि प्रहरी वा प्रशासनसम्म पुग्ने नपर्ने तर्क गर्नेहरु पनि अत्तरिया क्षेत्रमै छन्। अझ कतिपयले त यो विषय नेपाली काँग्रेस र नेकपा एमालेको राजनीतिक आरोप/प्रत्यारोप गर्ने माध्यम मात्र बनेको बन्ने तर्क पनि गरिरहेका छन्। उद्योग वाणिज्य संघको निर्वाचन हुँदा यी दुबै खेमा पार्टीकै गन्ध आउने गरी निर्वाचनमा होमिएका थिए।

कमेन्ट लोड गर्नुस