कैलाली र कञ्चनपुरबाट ठूलो परिमाणमा अबैध सामान बरामद, एक जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले ठूलो परिमाणमा अबैध सामान बरामद गरेको छ।
भन्सार छलीका सामानमा संलग्न एक व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ। प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–३ ट्राफिकचोक स्थित ब्यारेल नजिकबाट करिब ६० हजार ४० मुल्यका चिनी, प्याज, चामल, अचार, प्लाष्टिक बिष्कुट र सरफ लगायतका अबैध सामान बेवारिसे अबस्थामा बरामद गरेको छ।
त्यस्तै धनगढी उपमहानगरपालिका–१० बनकट्टी घाटबाट करिब एक लाख ९६ हजार मुल्यका अबैध माछा र २ थान मोटरसाइकलसहित सोही ठाँउ स्थानका ४३ वर्षीय जहर रानालाई शनिबार दिउँसो प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ। बरामद गरिएका माछा र मोटरसाइकलसहित रानालाई कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय स्थित पुर्वपश्चिम राजमार्गबाट पनि प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ। करिब एक लाख ७५ हजार ६४० मुल्यका चप्पल, चिनी, सुर्ती, नरिवल, गुड, मटर, माईक्रोनी, मकैको बिउ, भिन्डीको बिउ, नमकिन, बिष्कुट र प्याजलगायतका सामान शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो।
त्यस्तै बेलौरी नगरपालिका–५ मैना भुराकोटबाट करिब ५५ हजार मुल्यका अबैध जिंक, सुर्ती र पुनर्वास नगरपालिका–१ पडाउबाट करिब ६५ हजार मुल्यका ज्याकेट, फुल टि–सर्ट गरि एक लाख २० हजार मुल्यका सामान जफत गरिएको प्रहरीले जनाएको छ।