सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा माओवादीभित्र किचलो बढ्यो, भट्टलाई हटाएर धामीलाई स्वागत

२०८० माघ १२, ०२:४३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा माओवादीभित्र आन्तरिक किचलो बढ्दै गएको छ।

माओवादी केन्द्रका बहुमत सांसदले सुदूरपश्चिममा संसदीय दलको नेता फेरबदल गरेका छन्। संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा आज (शुक्रबार) बसेको बैठकले दलका नेता खगराज भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई स्वागत गरिएको छ।

भट्टलाई हटाएर धामीलाई चयन गरिएको माओवादीबाट प्रदेश सभा सदस्य शिवसिंह ओलीले बताए। दलको नेता फर्ने निर्णयमा माओवादीका ६ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन्। प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सदस्य छन्।

दलको नेता परिवर्तन गरिएको निर्णय सभामुखलाई समेत जानकारी गराइसकिएको सांसद ओलीले बताए। भट्टले दलको नेताका रुपमा संसदीय दल र पार्टीको भूमिकालाई प्रभावकारी बनाउन नसकेकाले नेतृत्व फेरबदल गर्नुपरेको उनले बताए। दलको नेता चयन भएका धामीले बहुमत सदस्यले दलको नेता फेरबदलका लागि यसअघि नै केन्द्रलाई जानकारी गराएको बताए। दलको नेता र मन्त्री फेरबदलको विषयमा बिहीबारसमेत पार्टी केन्द्रलाई लिखित जानकारी गराइएको धामीले बताए।

मन्त्री फेरबदलबारे दलको बैठकमा छलफल हुने उनले बताए। पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने र दलको नेता फेर्नुपर्ने माग गर्दै सभामुखसहित माओवादीका बहुमत सांसदले केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई लिखित ध्यानाकर्षण गराएका थिए। दलको नेता फर्ने निर्णयमा धामीसहित उपनेता अक्कल रावल, प्रदेश सभा सदस्यहरु शिवसिंह ओली, ओमबिक्रम भाट सरल, गीतादेवी माल र लक्ष्मी बिकले हस्ताक्षर गरेका छन्।

कमेन्ट लोड गर्नुस