सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नैनादेवी क्षेत्रको सडक कालोपत्र हुँदै, तीन करोडको बजेट स्वीकृत

२०८० माघ १०, ०६:२९ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ नैनादेवी मन्दिर क्षेत्रको सडक धुलाम्य छ।

धनगढी उपमहानगरपालिकाले नाली निर्माण गरेको सडक धुलाम्य भएको हो। पुरानो कालोपत्र रहेको सडक १४ मिटर चौडाइमा विस्तार गर्दै नाली निर्माणको काम पूरा भएको छ। नाली निर्माण भएको क्षेत्रमा विद्युतका पोलहरुसमेत सारिएका छन्। पुरानो कालोपत्र भत्काएको धनगढी उपमहानगरपालिकाले ग्राभेलसमेत गरेको छैन।

स्थानीय दिलिप श्रेष्ठले सडकको धुलोले हैरान बनाएको बताए। उनले भने, ‘घाम लागेको दिन धेरै धुलो हुन्छ। सवारी पनि धेरै चल्ने सडक हो। उपमहानगरपालिकाले नाली निर्माण गरेको छ। ग्राभेलसमेत हालेको छैन।’ नेपाली काँग्रेसको पार्टी कार्यालय, निर्वाचन कार्यालय हुँदै सशस्त्र प्रहरीको गणसम्म धनगढी उपमहानगरपालिकाले नाली निर्माण गरेको थियो। उपमहानगरपालिकाले नाली निर्माणमा मात्र झण्डै ८० लाख खर्च गरेको थियो।

सोही सडक कालोपत्रका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको थियो। तर एक करोडमा सडक कालोपत्रको काम नहुने भन्दै मन्त्रालयले थप बजेट माग गरेको थियो। आर्थिक मामिला मन्त्रालयले अहिले तीन करोडको बजेट स्वीकृती दिएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, कैलालीका सूचना अधिकारी विनोद खड्काले तीन करोडको बजेट स्वीकृती पाएको बताए। उनले भने, ‘एक करोड बजेट थियो। तीन करोडको बजेट स्वीकृत भएको छ। तीन करोड बजेटमा चार सय ७० मिटर कालोपत्रका लागि योजना रहेको छ।’ मुख्य सडकदेखि पुरानो हसनपुरसम्मको सडक कालोपत्रका विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भएको थियो।

धनगढी उपमहानगरपालिकाले बजेट मागसहित डिपीआर प्रदेश सरकारलाई बुझाएको हो। तर, डिपीआर अनुसार बजेट विनियोजन भएको छैन्। आर्थिक मामिला मन्त्रालयले तीन करोडको बजेट स्वीकृती पाएकाले सोही रकम बराबरको सडक कालोपत्रका लागि बोलपत्र आह्वान गर्ने भएको छ। पूर्वाधार कार्यालय, कैलालीले प्राविधिक र आर्थिक मुल्याङ्कन गरेर सडकको लम्बाइ घटाएर कालोपत्रका लागि ठेक्काको सूचना सार्वजनिक गर्ने भएको छ।

खड्काका अनुसार एक हप्ता भित्रमा सडक कालोपत्रका लागि सूचना सार्वजनिक हुने छ। दुई महिनापछि मात्र सडक कालोपत्रको काम सुरु हुने दाबी छ। नेपाली काँग्रेसको पाटी कार्यालय अगाडी, निर्वाचन कार्यालय हुँदै सशस्त्र प्रहरीको गणसम्मको सडकको चौडाइ १४ मिटर छ। सो क्षेत्रमा फुटपाथसहितको सात मिटरको कालोपत्र निर्माण हुनेछ। तर, मन्दिर क्षेत्रमा १० मिटर भित्रमा नालीसहितको कालोपत्र सडक निर्माण हुने भएको छ। मन्दिर रहेको क्षेत्रमा फुटपाथ निर्माण नहुने भएको छ। १० मिटर भित्रका संरचना मात्र खाली गर्न सहमति भएकाले सोही क्षेत्र भित्र सडकका संरचना निर्माण हुनेछन्। तर, स्थानीयले संरचनाहरु भने खाली गरेका छैनन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस