सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलको आक्रमणबाट सिरियामा ५ जनाको मृत्यु

२०८० माघ ६, ०७:२२ खबर संवाददाता

एजेन्सीः इजरायल र हमासबीचको युद्धलाई लिएर क्षेत्रीय तनाव बढिरहेका बेला शनिवार दमास्कसमा इजरायलले गरेको हवाई आक्रमणमा परी पाँच जनाको मृत्यु भएको युद्ध अनुगमनकर्ताले बताएका छन्।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ, “इजरायली क्षेप्यास्त्र आक्रमणमा चारतले भवनलाई निशाना बनाइएको र पाँच जनाको मृत्यु भएको छ। इरानसमर्थित नेताहरूको बैठक भइरहेको सम्पूर्ण भवन ध्वस्त पारेको छ।” सिरियामा रहेका स्रोतहरूको सञ्जालसँग सम्बन्धित बेलायती निगरानीकर्ताका अनुसार लक्षित इलाका इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) र इरान समर्थक प्यालेस्टाइनी गुटका नेताहरूको उच्च सुरक्षा क्षेत्र मानिन्छ।

सिरियाको सरकारी सञ्चार माध्यमले पनि मध्यरातमा भएको आक्रमणका कारण आकाशमा धुवाँको मुस्लो उडेको जनाएको छ। सरकारी समाचार संस्था सानाका अनुसार दमास्कसको माजेह इलाकामा रहेको एक आवासीय भवनलाई लक्षित गरी आक्रमण गरिएको छ। उक्त समाचारमा हताहत भए÷नभएको भने बताइएको छैन।
 

कमेन्ट लोड गर्नुस