सुदूरपश्चिमका ४३ द्वन्द्वपीडित न्याय माग्दै, सेनाबाटै ११ महिलामाथि करणी
धनगढीः सुदूरपश्चिममा सशस्त्र द्वन्द्वको चपेटामा परेका ४३ जनाले अझै न्याय पाउन सकेका छैनन्।
२०५२ साल फागुन २ गतेदेखि तत्कालीन विद्रोही माओवादीले चलाएको द्वन्द्व २०६३ मङ्सिर ५ मा आएर विस्तृत शान्ति सम्झौतासँगै रोकिन पुगेको थियो। तत्कालीन नेकपा माओवादी र राज्य पक्षबीच भएको सशस्त्र द्वन्द्वमा परेका सुदूरपश्चिमका विभिन्न ४३ जनाले अझै न्याय र क्षतिपूर्ति पाएका छैनन्।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ८ घर भएका लालबहादुर बमलाई बाजुराको सत्य माध्यमिक विद्यालय पाण्डुसेनमा शिक्षको रुपमा कार्यरत रहेको अवस्थामा २०५९ जेठ १५ मा माओवादीको आरोपमा सुरक्षाकर्मीले नियन्त्रणमा लिई कुटपिट गरी यातना दिएको र निजको श्रीमती रुपादेवी बमलाई २०६० असोज ४ गते माओवादी कार्यकर्ताले कुटपिट गरी धनमाल लुटेको घटनाको छानबिन नभएको उल्लेख छ।
पीडित बम दम्पतिले राज्यबाट क्षतिपूर्ति नपाएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी, अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का शंकर थापालाई २०६१ जेठ १९ मा नेकपा माओवादीका कार्यकर्ता खण्टे कामीले चित्रेपाटा भन्ने जङ्गलमा लगेर हत्या गरेको जाहेरी उपर प्रहरी अनुसन्धान नै नभएको आयोगको ठहर छ।
तत्कालिन भजनी गाविस घर भएका लक्ष्मीप्रसाद जैसी न्यौपानेलाई माओवादीको स्वायत्त क्षेत्र सेती–महाकाली जनसमितिले २०५९ मा आफ्नो नियन्त्रणमा राखी यातना दिएको भएपनि द्वन्दको समाप्ति पछी न्यौपानेले कुनै क्षतिपूर्ति पाउन सकेका छैनन्। यस्तै, घोडाघोडी नगरपालिका घर भएका शितल कठरिया थारुलाई सुराकी गरेको आरोपमा तत्कालीन माओवादी कार्यकर्ताले निर्मम कुटपिट गरेको र उपचारको क्रममा भेरी अञ्चल अस्पतालमा थारुको मृत्यु भएको घटनामा संलग्नको पहिचान नगरिएको र परिवारलाई क्षतिपूर्ति नदिएको उल्लेख गरेको छ।
कैलालीको तत्कालीन गदरिया गाविस वडा नम्बर ६ का मानबहादुर साउँदलाई माओवादीले २०६२ पुस २६ मा अपहरण गरी बेपत्ता बनाएको घटनामा पीडित परिवारले पनि क्षतिपूर्ति पाएका छैनन्। तत्कालीन मसुरिया गाविस वडा नम्बर ४ बस्ने पर्वत भनिने डम्बर अधिकारीलाई २०५८ असोज १५ गते सुरक्षाकर्मीले पक्राउ गरी शारीरिक तथा मानसिक यातना दिएको घटनाका दोषी व्यक्तिको पहिचान, कानुनी कारबाही र क्षतिपूर्ति दिने काम नभएको प्रतिवेदनमा उल्लेख छ।
२०६० साउन २९ गते अछाम सदरमुकाम मङ्गलसेनबाट खटिएको तत्कालीन शाही नेपाली सेनाको टोलीले अछामकै एक १७ वर्षीया किशोरीसहित ७ महिलालाई पक्राउ गरेर बलात्कार गरेको घटनामा संलग्न तत्कालीन ज्वालादल गणका प्रजयविक्रम शाहको कमाण्डमा खटिएको सुरक्षाफौजमा रहेका दोषीहरूको पहिचान र पीडितलाई क्षतिपूर्ति नदिएको आयोगको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै कञ्चनपुरमा २०६० मङ्सिर २० गते राति सुरक्षाफौजले ४ बलात्कार गरेको घटनाका पीडको पहिचान गर्ने काम समेत नभएको पाइएको छ।
द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पञ्जा छाप ब्यानर नै बुझाएको छ। संगठनकी अध्यक्ष देवी खड्काले शान्ति सम्झौता भएको १७ वर्षसम्म पनि द्वन्द्वका समयमा बलात्कार र यौन हिंसामा परेका महिलाका घटनालाई राज्यले लगातार बेवास्ता गर्दै आएको भन्दै दबाबस्वरुप प्रधानमन्त्री प्रचण्डलाई १७ मिटर लामो कपडामा संकलित पीडितको पञ्जाछाप बुझाएकी हुन्।
द्धन्द्धकै समयमा डोटीको काडामाण्डौं गाविस वडा नम्बर २ घर भएका जहरसिंह बोगटीलाई तत्कालीन माओवादीले २०६० फागुन १५ गते अपहरण गरी शारीरिक र मानसिक यातना दिनुका साथै उनको पसलमा लुटपाट गरी चन्दा समेत लिएको घटनामा संलग्नको पहिचान गरि कानुनी दायरामा ल्याउने र पीडितलाई क्षतिपूर्ति दिने काम समेत भएको छैन्। तत्कालीन साडेपानी गाविस वडा नम्बर ५ का जयसुर कार्कीलाई २०६१ फागुन १७ गते सुखडमा सेना र माओवादीबीच दोहोरो भिडन्त सकिएको केही समयपछि साइकल लिएर सेनाको चेक व्यारेक पार गरी साइकल चढेर जाँदै गर्दा सेनाले चलाएको गोली लागेर बायाँ खुट्टा भाँचिएकोमा अहिलेसम्म पीडितले क्षतिपूर्ति पाएका छैनन्।
कैलालीमै २०६५ साल जेठ २ गते तत्कालीन सुगरखाल गाविस वडा नम्बर ७ सोल्टाका मानबहादुर शाहीको घरमा वेवारिसे अवस्थामा रहेको बम विष्फोट हुँदा स्थानीय रत्नबहादुर विश्वकर्मा, देवीराज विष्ट, निर्मला भण्डारी, पार्वती जैसी, कैलाश बजगाई, नाबालकहरू तपेन्द्र बोहोरा, तपेन्द्र भुल र प्रकाशनाथ योगी घाइते भएका थिए। बम विष्फोटबाट घरधनी मानबहादुर शाही, कलशा बजगाई, उज्वलप्रसाद जैसी, डिल्ली बोहरा, जयाप्रसाद जैसी, कान्तप्रसाद जैसी, गोरखबहादुर रावल, कृष्ण बोहोरा, मानबहादुर दमाई, निर्मला भण्डारी, माने ढोली, लिलाराम जैसी समेतको सम्पत्ति क्षति भएको उल्लेख छ। गैरीगङ्गा नगरपालिका वडा नम्बर ९ का गङ्गाराम सापकोटालाई २०६१ पुस २४ र रामबहादुर चौधरीलाई २०६१ पुस २१ गते तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरी यातना दिएको घटानाका पीडितले पनि क्षतिपूर्ति पाएका छैनन्।
यस्तै, तत्कालीन बलिया गाविस वडा नम्बर ६ तिलकपुरका सुरेन्द्र गिरीलाई तत्कालीन माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेको, उनी सुरूमा आफैं माओवादीको कार्यकर्ता भई कार्यरत रहेको बेला निजको दायाँ खुट्टा काटिई अपाङ्गता भएर घरमा बसिरहेको समयमा हेमन्त शाही नाम गरेका माओवादी कार्यकर्ता सुरक्षा कारबाहीमा मारिएपछि सो घटनामा मृतक सुरेन्द्र गिरीलाई सुराकी गरेको आरोपमा माओवादी कार्यकर्ताले अपहरण गरी हत्या गरेकोमा परिवारले राहत पाएको भए पनि दोषी पत्ता लगाएर कारबाही गरिएको छैन भने २०५८ पुस ८ गते तत्कालीन थापापुर गाविस वडा नम्बर ४ मासनखाम भन्ने स्थानबाट सुरक्षाकर्मीले स्थानीय प्रेमबहादुर डगौरालाई गोली हानी मारेको घटनामा मृतका परिवारले राहत पाए पनि दोषीलाई कारबाही गर्नुपर्ने सिफारिस राष्ट्रिय मानव अधिकार आयोगले गरेको छ।