तिमी पीडा
कविता जोशी :
जसरी पन्छ्याउदो हो, शिशिरले वसन्तलाई
त्यसै गरि आँगनमा भित्रिन्छौ तिमी
उर्फ पीडा
जसरी यो कठ्याङरिदो चिस्यानमा छोड्दैन सितले
त्यसरी कठ्याङरिन्छौ मेरो कहरमा
कहिलेकाहीँ त भगवानले नि
आफ्नो काम भुल्दो हो
तिमी हरेक पल्ट किन खत दिएर जान्छौ ?
जुकाले रगत चुसेझैँ एउटै बलेनीमा भुल्छौ
मेरो रातिको निन्द्रालाई लखेट्छौ
बिहानीको सुनौला रविका किरणलाई लुकाउछौ
पानीले माछालाई साथ दिएजस्तै
नङले मासु र मौरीले महलाई दिएजस्तै साथ दिन्छौ
कहिले त छोड न हो, मेरो साथ
मलाई नि मन छ, छरपस्ट हुनेगरि
अनुहारको रङ बदल्न
फूल सरि निर्धक्क फक्रिन
पुतली बनेर हरेक फूलको सुगन्ध लिन
मलाई मन छ,
मुना पलाउन लागेको अबोध बालकझैँ तोते बोली बोल्न
के सम्भव छ यसरी नै आजाद हुन ?
जसरी वर्षैपछि उडाएको त्यो
पिँजडाको सुगाले पाउँछ, आजादी
के दिन्छौँ र ?
इन्द्रेणीको रङ सरि मलाई नि
फराकिलो पखेटा फिँजाउनु
भन न ए पीडा