गोदावरीमा स्नान गर्नेहरुको घुँइचो, चार लाख भक्तजन आउने अनुमान

धनगढीः सुदूरपश्चिम प्रदेशको पवित्र धाम कैलालीको गोदावरीमा स्नान गर्न आउने भक्तजनको घुँइचो लागेको छ।
गोदावरीमा जारी मकर मेलामा चार लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ। माघ १२ गतेसम्म लाग्ने मकर मेलामा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानबाट भक्तजन आउनेक्रम बढेको आयोजकले जनाएको छ। मकर मेलाका अवसरमा यो वर्ष गोदावरीमा पाँच पुराण वाचन र लक्ष हवन समेत हुने भएको छ।
नेपालसहित भारतका विभिन्न स्थानबाट भक्तजनहरु गोदावरीमा स्नान गर्न आउनेक्रम जारी छ। कैलालीको गोदावरीमा लाग्ने मकर मेलामा यो वर्ष चार लाख भक्तजनको सहभागिता रहने अनुमान गरिएको हो। मकर संक्रान्तिदेखि माघ १२ गतेसम्म कम्तिमा ४ लाख भक्तजनको सहभागिता रहने गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए।
गोदावरीधाममा आइतवाररदेखि बाह्र राशि दर्शन मकर मेला सुरु भएको हो। मकर स्नानका लागि सुदूरपश्चिमका सबै जिल्ला र लुम्बिनी प्रदेशको बाँके र बर्दियाबाट भक्तजन आइरहेको आयोजकले जनाएको छ। यस्तै, देशका अन्य स्थान र भारतको विभिन्न राज्यबाट पनि भक्तजनहरू गोदावरीमा स्नान गर्न आउनेक्रम जारी छ। यो वर्ष गोदावरीमा मकर स्नानका लागि तीन ठाउँमा स्नान कुण्ड निर्माण गरिएको छ।
नेपाली सेना, गोदावरी नगरपालिका र सडक विभागले स्नान कुण्ड निर्माण र मेला स्थलमा अन्य काम गरेको गोदावरी धाम विकास समितिका अध्यक्ष जोशीले बताए। गोदावरीमा १२ दिनसम्म विभिन्न कार्यक्रम गरिने भएको छ। यो वर्ष पाँचवटा पुराण पारायण गरिने भएको छ। श्रीमद्भागवत महापुराण, शिव महापुराण, देवीभागवत पुराण, गणेश पुराण र सूर्य पुराण परायण गरिने भएको छ। यस्तै, लक्ष हवन, भजन किर्तन र धार्मिक प्रवचन गरिने जोशीले बताए।


