रेशमको वर्षदिनको कमाइ बाटोमै लुटियो
धनगढीः दैलेख दुल्लुका रेशम खत्री एक वर्षअघि कामको खोजीमा भारत पसेका थिए। भारतको उत्तराखण्डमा काम गर्ने ३९ वर्षीय खत्री माघी मनाउन घर फर्किरहेका बेला वर्षभरिको सबै कमाइ बाटोमै लुटिएको छ।
रेशम भारत, उत्तराखण्डको हल्द्वानीमा लुटिएर अलपत्र अवस्थामा आइतवार गड्डाचौकी पुगेका थिए। अल्मोडामा ज्यालादारीको काम गर्ने उनी शनिवार त्यहाँबाट हिँडेका थिए। हल्द्वानीबाट बनबासासम्म आउने बस खोजी गर्दा ४÷५ जना आएर लुटपाट गरेर भागेको उनले बताए। १ लाख २० हजार भारु, दुई वटा मोबाइल र घरका लागि ल्याएका लुगाफाटो लुटेर लगेको उनले बताए।
हल्द्वानी बसपार्कमा अलपत्र परेर बसेका बेला जिल्लाकै बासिन्दा भेटिएपछि बनबासासम्मको टिकट दिएको खत्रीले बताए। सीमावर्ती बजार बनबासाबाट पैदल हिँडेर आइतवार दिउँसो गड्डाचौकी पुगेका उनलाई नागरिक सहायता कक्षले घरसम्म पुग्ने व्यवस्था गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको सहायता कक्षले लुटिएर वा विभिन्न कारणले अलपत्र परेकालाई घरसम्म पु¥याउने व्यवस्थापन गर्दै आएको छ।