सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऋण लिन बैंक पुगेका चौधरी मिटरब्याजीको फन्दामा, यसरी डुब्यो सम्पत्ति

२०८० पुष २८, ०६:३७ नारायण अवस्थी

धनगढीः कैलालीको भजनी नगरपालिका–६ नवलपुरका रामप्रकाश चौधरीको घरमा आयआर्जन गर्न व्यापार गर्ने सल्लाह भयो। होटल चलाउने योजना बनाएका रामप्रकाशसँग घरमा एक लाख रुपैयाँ मात्रै थियो। परिवारमा सल्लाह गरेर २०७३ को कात्तिकमा रामप्रकाश भजनीमै रहेको राष्ट्रिय वाणिज्य बैंकमा पुगे।

बैंकका शाखा प्रवन्धकले अर्को दिन आउनु होला भन्दै सबै प्रक्रिया मिलाउँदा केही समयपछि मात्रै जग्गा धितो राखेर ऋण दिन सक्ने बताएका थिए। रामप्रकाशलाई गाउँकै फट्टराम चौधरीले सोधपुछ गर्छन्। सोधपुछ गर्दा रामप्रकाशलाई पैसा चाहिएको फट्टुरामलाई थाहा हुन्छ। गाउँकै भाइनाता पर्ने फट्टुरामले दोस्रो दिन रामप्रकाशलाई  एक लाखको ठाँउ दुई लाख दिलाउने र त्यसका लागि मालपोतमा जग्गा रोक्का गर्नुपर्ने बताउँछन्।

बैंकबाट पैसा झिक्न झन्झटिलो हुने बताउँदै फट्टुरामले सजिलोसँग दुई लाख रकम उपलब्ध गराउने आश्वासन दिए। जसका लागि बैंकमा लालपुर्जा राख्नुनपर्ने, जग्गाको कित्ता रोक्का गरे पुग्ने बताउँछन्। फट्टुरामको भनेको उचित लागेर दोस्रो दिन रामप्रकाश लालपुर्जा र श्रीमतीसहित टीकापुरमा रहेको मालपोत कार्यालय पुग्छन्।

फट्टुरामले त्यो दिन आफ्नै भिनाजु शिवनारायण डगौरा र भागीराम चौधरीलाई पनि जग्गा रोक्का गर्न टीकापुर मालपोत बोलाएका थिए। तीनै जनासँगै टीकापुर मालपोत पुगेका हुन्छन्। नागरिकता, जग्गाको चार किल्ला प्रमाणित लगायतका कागजपत्र लिएर मालपोत पुगेका रामप्रकाश, शिवनारायण र भागीराम चौधरीलाई सहयोग गर्ने भनेर उनीहरूकै गाउँका आइतवारी चौधरी, कटानपुरका पर्शुराम डगौरा, सुख्खडका ज्ञानबहादुर चौधरी पनि टीकापुर मालपोत कार्यालयमा पुग्छन्। उनीहरूकै साथमा घोडाघोडी नगरपालिका–१ सुखड घर भएका मिटरव्याजी पूर्णबहादुर विक पनि थिए।

रामप्रकाशका अनुसार फट्टुराम र पूर्णबहादुरको टोलीले रामप्रकाशसहित जग्गा रोक्का गर्न गएका शिवनारायण डगौरा र भागीराम चौधरीलाई टीकापुरको एक होटलमा बसाएर मालपोतमा कागजपत्र मिलाउने काम आफै गरेका थिए। फट्टुरामले ‘काम हुँदै गर्छ, हामी नास्ता खाऊ’ भनेर होटलमै बस्न लगाएको रामप्रकाशले बताए। त्यो दिन साँझ चारबजे तीनै जनाको जग्गा रोक्का भएको भन्दै कागजपत्र हेर्नसम्म नदिएर फट्टुराम र पूर्णबहादुर विकले शिवनारायण डगौराको ८ कट्ठा जग्गा, भागीरामको ५ कट्ठा र आफ्नो  ३ कट्ठा ८ धुर जग्गा त्यहीँ दिन अर्थात् २०७३ मंसिर १ गतेको दिन गरेको रामप्रकाश चौधरीले बताए।
रोक्का गर्छु भनी राजीनामा पास
जग्गा रोक्का गर्ने भनेर फट्टुराम र पूर्णबहादुरले आफूहरूको जग्गा राजीनामा पास गरेको एक महिनापछि थाहा पाएका तीनै जना जग्गा धनीहरूलाई कुरै कुरामा अलल्याएर मालपोतको हाकिमले एक पटक पैसा पायौं भन्दा पाएको हो भनेर बोल्न लगाइएको रामप्रकाशले बताए। उनले आफूहरूलाई अड्डाको कारोबार थाहा नभएकाले जहाँ–जहाँ औंठा छाप लगाउन भन्यो त्यहाँ–त्यहाँ छाप लगाएको रामप्रकाशको भनाइ छ। झुक्याएर जग्गा आफ्नो नाममा दर्ता गराएका पूर्णबहादुरले रामप्रकाशबाट मालपोतमा रोक्का गर्न दस्तुर राख्ने भन्दै १८ हजार तिर्न लगायको रामप्रकाशको दाबी छ। उनले एक लाख दिँदा पूर्णबहादुरले १८ हजार घटाएर ८२ हजार मात्रै दिएको बताए।
३० लाख दिएको भन्दै राजीनामाको कागज तयार
रामप्रकाशको सडक छेउको मिलेको कित्ता नम्बर ६४३ र ११८६ को दुई कित्ता जग्गा रोक्का गरेर दुई लाख रुपैयाँ दिने भनिएको थियो। तर, रामप्रकाश चौधरीसँग रहेको राजीनामा पत्रमा रामप्रकाशले पूर्णबहादुरलाई ३० लाख रुपैयाँ लिएर जग्गा बिक्री गरेको विवरण छ। जसरी शिवनारायण डगौराको ८ कट्ठा, भागीराम चौधरीको ५ कट्ठा जग्गा हत्याइएको छ। त्यहीँ किसिमले पूर्णबहादुरले रामप्रकाश चौधरीको ३ कट्ठा ८ धुर जग्गा एक लाख ८२ हजार रुपैयाँ ढेड प्रतिशत व्याजमा दिएर हत्याएको देखिन्छ।
एक महिनापछि लेनदेनको कागज
पूर्णबहादुरले रामप्रकाश चौधरीको जग्गा आफ्नो नाममा दर्ता गरेको एक महिनापछि २०७३ मंसिर १ मा लेनदेनको कागज लेखाएका छन्। लेनदेनको कागज बनाउँदा मात्रै रामप्रकाशले आफ्नो जग्गा पूर्णबहादुरको नाममा राजीनामा पास भएको थाहा भएको बताए। उनले त्यसपछि प्रतिवाद गर्दा फट्टुराम चौधरी, ज्ञानबहादुर चौधरी, आइतवारी चौधरी र पर्शुराम डगौराले ‘केही हुन्न, हामी ग्यारेन्टी गर्छौँ’, भनेर मनाएकाले चुप लागेर कागज बनाएको बताए। यहाँनेर पनि फट्टुराम र उनका साथीहरूले कागज बनाउन पूर्णबहादुरलाई नै सहयोग गरेको देखिन्छ।


दुई वर्षमा फिर्ता गर्छु भनेको जग्गा बैंकमा राखियो
२०७३ मंसिर १ गतेका दिन पूर्णबहादुर विकको घरमा अधिवक्ता छविलाल तिवारीले तयार गरेको लेनदेनको कागजमा रामप्रकाश चौधरीले पूर्णबहादुर विकबाट दुई लाख नगद लिएको र त्यसको डेढ प्रतिशत व्याज मासिक रुपमा भुक्तानी गर्नुपर्ने उल्लेख छ। दुई वर्षभित्र रामप्रकाशले पूरै रकम चुक्ता गर्नासाथ पूर्णबहादुरले जग्गा फेरि रामप्रकाश चौधरीको नाममा राजीनामा पास गरिदिने उल्लेख छ। तर, पूर्णबहादुरले रामप्रकाशबाट ब्याज पनि उठाउने र त्यहीँ जग्गा मुक्तिनाथ विकास बैंक धनगढीमा धितो राखेको धेरैपछि मात्र थाहा भएको रामप्रकाश बताउँछन्।

रामप्रकाशले मासिक ५ हजारका दरले सावाँ र ब्याजसहित ३ लाख २५ हजार पूर्णबहादुरलाई २०७५ मै बुझाएको दाबी गरेका छन्। तर, पूर्णबहादुरले भने सो जग्गा बैंकमा धितो राखेका थिए। बैंकले जग्गा लिलाम गर्ने प्रक्रिया थाल्नुभन्दा अगाडि मात्रै चौधरीले जग्गा बैंकमा राखेको थाहा पाएको बताए। सात लाख बैंकमा जम्मा गरे लिलाम प्रक्रिया तीन महिनाका लागि रोक्ने भनेर फोन गर्दा आफ्नो जग्गा बैंकबाट लिलाम हुन लागेको थाहा पाएको रामप्रकाशको भनाइ छ।
पैसा तिरेको एक वर्षपछि जग्गाको मूल्य १५ लाख दिने सहमति 
२०७५ मै दुई लाखको सावाँ र ब्याजसहित पूर्णबहादुरलाई ३ लाख २५ हजार बुझाएका रामप्रकाशले एक वर्षसम्म धाउँदा जग्गा फिर्ता नपाएपछि आफ्नो जग्गाको मूल्य पाउनुपर्ने माग गरेका थिए। पूर्णबहादुर रामप्रकाशलाई १५ लाख दिन सहमत भए। तर, यो सहमतिअनुसार रामप्रकाशलाई पूर्णबहादुरले पैसा भने दिएनन्। पूर्णबहादुर विकले सुरूमा ६ लाखको चेक दिएको तर त्यो चेक बैंकमा नसाटिएपछि रिसले च्यातेर फालेको उनी बताउँछन्। दोस्रो र तेस्रो पटक पूर्णबहादुरले दिएको चेक भने अहिले पनि रामप्रकाशसँग छ। ‘२०७६ मंसिर १८ मिति उल्लेख भएको एनआइसी एसिया बैंकको एक लाखको र २०७६ फागुन ३० मिति उल्लेख भएको ४० हजारको चेक कहिल्यै साटिएन’, रामप्रकाशले भने।
चेक नसाटिएपछि गाडी दिने सहमति 
पूर्णबहादुरले दिएका बैंक चेक नसाटिएपछि रामप्रकाशलाई गाडी दिने कुरा गरियो। चौधरी गाडी पनि लिन्छु भन्दा ट्याक्टर दिने भनेर पूर्णबहादुरले उनलाई पटकपटक सुखड बोलाउन थाले। तर, ट्याक्टर कुनै पनि सो रुमम नभएको भन्दै पूर्णबहादुरले पेट्रोलबाट चल्ने अटो दिने बताए। अटो लिन पनि आफू मन्जुर भएर पूर्णबहादुरले बोलाएको दिन रामप्रकाश गाउँकै एकजना अटो चलाउन जान्ने र अर्का दृष्टिविहीन व्यक्तिलाई साथमा लगेर पूर्णबहादुरको घर पुग्छन्। तर, पूर्णबहादुरले आफू धनगढीमा रहेको भन्दै रामप्रकाशलाई  सुहाउने अटो धनगढीमा कतै पनि नमिलेको बताउँछन्। त्यसपछि भने जतिसुकै प्रयास गरे पनि पूर्णबहादुर आफ्नो फेला पर्न छाडेको रामप्रकाशले बताए।


एक वर्ष अगाडि बैंकले सात लाख माग्यो
एक वर्ष अगाडि मुक्तिनाथ विकास बैंक धनगढीबाट फोन गरेर जग्गा लिलाम हुन लागेकाले तीन महिनासम्म लिलाम रोक्ने भए सात लाख रकम जम्मा गर्न भनिएको रामप्रकाशले बताए। रामप्रकाश जस्तै शिवनारायण डगौराको ८ कट्ठा र भागीराम चौधरीको ५ कट्ठा जग्गा पूर्णबहादुरले मालपोतबाट झुक्याएर आफ्नो नाममा दर्ता गरेका थिए। तीनै जनालाई  जग्गा लिलाम हुनबाट तीन महिनासम्म जोगाउन ७ लाख रकम बुझाउन भनिएको रामप्रकाशको भनाइ छ। उनले आफूहरूसँग त्यति रकम नहुँदा जम्मा गर्न नसकेको बताए। उक्त जग्गा अहिले बैंकले लिलाम गरिसकेकाले सुखडकै नवराज खनालले सकारेको चौधरीले बताए। भजनीका एकै गाउँका तीन जनालाई आफन्तले नै धोका दिएर मिटरब्याजी मार्फत जग्गा हरण गराएका छन्।

सम्बन्धित समाचारहरु ः

कैलालीमा थारू समुदाय घर जग्गा गुमाउँदै, आफन्तबाटै मिटर ब्याजीको चङ्गुलमा

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस