कैलालीमा थारू समुदाय घर जग्गा गुमाउँदै, आफन्तबाटै मिटर ब्याजीको चङ्गुलमा
धनगढी: कैलालीको भजनी नगरपालिका वडा नम्बर ६ नवलपुरका ७० वर्षीय शिवनारायण डगौरा र धनगढी उपमहानगरपालिका वडा नम्बर १९ की सुक्नीदेवी चौधरी आफ्नो जग्गा जालसाजी गरेर आर्कैको नाममा गएको पीडा भोगिरहेका छन्। भजनी नगरपालिका वडा नम्बर ६ नवलपुरकै भागीरामको जग्गा पनि जालसाजी गरेर अर्कैको नाममा दर्ता भएर बैँक मार्फत लिलाम भएर तेस्रो व्यक्तिको नाममा दर्ता भएको छ।
कैलालीमा थारू समुदायका सोझा किसानलाई घर व्यवहार चलाउन पैसाको समस्या परेको मौका छोपेर जग्गा हडप्ने काम भइरहेका घटना सार्वजनिक हुन थालेका छन्। मिटर ब्याज र अनुचित लेनदेनमार्फत जग्गा दलाल, बिचौलिया, मालपोत कार्यालयका लेखापढी गर्ने व्यक्ति र मालपोत कार्यालयका अधिकारीको मिलेमतोमा कैलालीमा थारू समुदायका सोझा किसानहरूलाई झुक्याएर जग्गा हरण गर्ने काम भइरहेका केही घटना बाहिर आएका छन्। लेख्न, पढ्न नजान्ने र सोझा थारू किसान आफन्त र चिनेको मान्छेबाटै पीडित भएको पाइएको छ। पैसाको खाँचो परिरहेको थाहा पाएर जग्गा दलाल र मिटरब्याजीको सम्पर्कमा आफन्त मार्फत नै उनीहरू पुगेको देखिन्छ।
आफ्नै सालाबाट पीडित शिवनारायणको बयान यस्तो छ
भजनी-६ नवलपुर गाउँमा बस्ने शिवनारायण डगौरालाई एक लाख जति ऋण लागेको हुन्छ। ऋण तिर्न उनलाई पैसा चाहिएको हुन्छ। तर, नियमित आयस्रोत भने थिएन। उनले बैँकमा जग्गा धितो राखेर ऋण तिर्ने सल्लाह गर्छन्। आफ्ना भिनाजुलाई पैसाको आवश्यकता परेको उनका साक्खै साला फट्टुराम चौधरीलाई पनि थाहा हुन्छ।
नवलपुर गाउँमै बस्ने फट्टुरामले आफ्ना भिनाजु शिवनारायणलाई एक लागको बदला दुई लाख दिलाइदिने बताउँछन्। तर, त्यसका लागि उनले जग्गा रोक्का गर्नुपर्ने बताउँछन्। फट्टुरामले बैंकबाट कारोबार गर्दा दुई तीन महिना लाग्ने हुँंदा मालपोतमा जग्गा रोक्का गरे दुई दिनमै पैसा दिलाइदिने बताउँछन्।
सालोले नै यस्तो भनेपछि आफू दुई लाख लिन जग्गा रोक्का गर्न मालपोत कार्यालय टीकापुर जान तयार भएको शिवनारायणले बताएका छन्। "मलाई ऋण तिर्न एक लाख चाहिएको थियो, सालोले दुई दिनमै दुई लाख दिलाउने भनेपछि लालपुर्जा बोकेर मालपोत कार्यालय गएँ," उनले भने, "रोक्का गर्ने भनेको जग्गा त अरूलाई नै राजीनामा पास गरेको भन्ने पछि मात्रै थाहा भयो।"
शिवनारायण जस्तै रामप्रकाश र भागीरामलाई पनि सोही दिन फट्टुरामले टीकापुर मालपोत कार्यालय लगेका थिए। फट्टुरामसहित आइतवारी चौधरी, पर्शुराम डगाैरा र ज्ञानबहादुर चौधरीले शिवनारायण, रामप्रकाश र भागीराम चौधरीलाई मालपोत कार्यालय लगी उनीहरूको जग्गा घोडाघोडी नगरपालिका वडा नम्बर १ सुख्खड बस्ने पूर्णबहादुर विकको नाममा राजीनामा पास गर्ने काम भएको देखिन्छ।
८ कट्ठा जग्गा झुक्याएर राजीनामा पास
शिवनारायण डगौराको भजनी नगरपालिका वडा नम्बर ६ को कित्ता नम्बर ९४६ को जग्गा २०७३ सालमा झुक्याएर हत्याउने काम भएको छ। मालपोत कार्यालय, टीकापुरमा गरिएको लिखित राजीनामा पत्रमा २४ लाख मूल्य तिरेर जग्गा पास गरिएको विवरण उल्लेख छ। तर, शिवनारायणलाई भने जग्गा रोक्का गरेर रुपैयाँ दिने भनिएको थियो। फट्टुराम र पूर्णबहादुर विकले मालपोत कार्यालयमा कागज हेर्न पनि नदिएर सही छाप गर्न लगाएको बताएका छन्। उनले साथमा रहेका भागीराम र रामप्रकाश र आफूलाई टीकापुरकै एक होटेलमा नास्ता खाने भनेर अलमल्याएर एक दिनमै तीनै जनाको जग्गा राजीनामा पासको कागज बनाएको बताएका छन्।
मालपोत कार्यालयमा यसरी झुक्याइयो
मालपोत कार्यालय गएको दिन शिवनारायणलाई औठा छाप लगाउनुपर्ने ठाउँमा च्याप्न लगाउने काम फटुटुराम र पूर्णबहादुर विकसहित ज्ञानबहादुर चौधरी, आइतवारी र पर्शुरामले गरेका थिए। उनीहरूले लेखनदासबाट कागज तयार गर्ने सबै काम आफैले गरेका थिए। अन्त्मा मालपोत कार्यालय प्रमुखले "सबै पैसा पाएको हो?" मात्रै सोधेको र आफूले "अँ पाएको हुँ" भनेको शिवनारायणले भने। उनले फट्टुराम र पूर्णबहादुरले यत्ति मात्रै बोल्नु भनेकाले थप कुरा नबोलेको र हाकिमले पनि अन्य कुरा नसोधेको बताए। मालपोतमा काम नसकिँदासम्म शिवनारायणलाई होटलमै बस्न लगाएर राजीनामा पासको काम उनीहरूले फत्ते पारेको शिवनारायण बताउँछन्।
जग्गा पास गरेको एक महिनापछि लेनदेनको कागज
जग्गा आफ्नो नाममा दर्ता गरेको करिब एक महिनापछि पूर्णबहादुर विकले शिवनारायण डगौरालाई पैसा दिने भन्दै आफ्नो घर सुख्खड बोलाउँछ्न्। पूर्णबहादुरको घरमा २०७३ मंसिर १ गते लेखिएको लेनदेनको कागजमा अधिवक्ता छविलाल तिवारीले बिचौलियाको काम गर्ने पर्शुराम डगौरा र आइतवारी चौधरीलाई साक्षी राखेर शिवनारायणले पूर्णबहादुरबाट ३ लाख ५० हजार रुपैयाँ लिएर आफ्नो नाममा रहेको ८ कट्ठा जग्गा पूर्णबहादुरको नाममा राजीनामा पास गरेको ब्यहोरा लेखेका छन्। कागजमा शिवनारायणले सो रकमको मासिक डेढ प्रतिशत ब्याज दिनुपर्ने र पाँच वर्षभित्र सावाँ ब्याज भुक्तानी गरेर जग्गा फिर्ता पाउने सर्त राखिएको छ। शिवनारायणले यो कागज तयार भएपछि मात्रै आफ्नो जग्गा पूर्णबहादुरको नाममा दर्ता भएको थाहा पाएको बताएका छन्। जग्गा पास भएको दिन दिएको एक लाख खर्च गरिसकेका उनले "मेरो जग्गा अहिले नै फिर्ता गर!" भनेर पूर्णबहादुर भन्न नसकेको बताएका छन्। पूर्णबहादुरले मालपोत कार्यालय बाहिर शिवनारायणलाई एक लाख दिनासाथ उनका असामीले त्यो रकम शिवनारायणबाट बुझिसकेका थिए।
रोचक कुरा त के छ भने मालपोतको राजीनामा पत्रमा शिवनारायणको जग्गाको मूल्य २४ लाख कायम गरिएको र सोही रकम शिवनारायणलाई दिएको देखाइएको छ। यता एक महिनापछि वकिलले तयार पारेको लेनदेन कागजमा सो जग्गाको मूल्य ३ लाख ५० हजार कायम गरेर लेनदेन भएको लेखिएको छ। लेनदेनको कागज वडा कार्यालयमा दर्ता हुनुपर्ने भए पनि त्यसो गरिएको छैन।
शिवनारायणले कति पैसा फिर्ता गरे?
शिवनारायणले पूर्णबहादुरलाई अहिलेसम्म कति रकम तिरे भन्ने कुराको हिसाब नै राखेका छैनन्। लेख्न पढ्न नजान्ने भएकाले हिसाब राख्न नसकेका उनले २०७६ पुस ७ मा पूर्णबहादुरलाई १ लाख ६८ हजार फिर्ता गरेको देखिन्छ। कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर ८ घर भएका भरत कठायत र भजनी नगरपालिका वडा नम्बर ६ का मोतिलाल चौधरी साक्षी बसेर सुख्खडका गौतमकुमार चौधरीले लेखेको कागजमा शिवनारायणले पूर्णबहादुरलाई १ लाख ६८ हजार बुझाएको देखिन्छ। यो रकम ब्याज मात्रै भएको मासिक पाँच हजारका दरले सावाँ रकम बुझाएको शिवनारायणले बताएका छन्।
पूर्णबहादुरले जग्गा बैँकमा राखे
शिवनारायणलाई झुक्याएर हत्याएको जग्गा पूर्णबहादुरले मुक्तिनाथ विकास बैंक धनगढीमा धितो राखेर ऋण लिएका रहेछन्। यो कुरा बैंकले जग्गा लिलाम हुने प्रक्रिया थालेपछि मात्रै शिवनारायणलाई थाहा भयो। बैंकबाट फोन गएपछि शिवनारायणले आफ्नो जग्गा पूर्णबहादुरले बैंकमा राखेको थाहा पाएको बताएका छन्। अहिले त्यो जग्गा लिलाम भएर सुख्खडकै नवराज खनालको नाममा दर्ता भएको शिवनारायणले बताए।
शिवनारायण अहिले जग्गा सम्बन्धी र लेनदेनका कागज समातेर भौतारिएका छन्। आफन्तबाटै ठगिएका उनलाई गुहार माग्न कता जाने भन्नेसम्म थाहा छैन। साला फट्टुरामको फन्दामा परेर आफ्नो अंशको जग्गा गुमाएका उनलाई साथ र सहयोग गर्ने कोहेर छैन। उनी जस्तै अर्का पीडित रामप्रकाश चौधरीसँगै आफ्नो व्यथा पोख्न शिवनारायण दिनेश संचार गृहमा पुगेका थिए।
सम्बन्धित समाचारहरु ः
फिर्ता गर्छु भनेको जग्गा मिटरब्याजीबाट अर्कैलाई बिक्री, चौधरी दम्पत्ती बिचल्लीमा
टीकापुरकी शीतलबाट दर्जन बढी परिवारको उठीबास, साउँद दम्पती हिरासतमा