सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिर्ता गर्छु भनेको जग्गा मिटरब्याजीबाट अर्कैलाई बिक्री, चौधरी दम्पत्ती बिचल्लीमा

२०८० पुष २४, ०६:१९ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ घर भएकी दुर्गादेवी चौधरी र उनका पति खडकबहादुर चौधरी फूलबारी चक्रपथसँग जोडिएको आफ्नो साँढे १३ कट्ठा जग्गा बैंकमा धितो राखिएको थाहा पाएर हैरान छन्। चौधरी दम्पतीको जग्गा सुरूमा ज्योति विकास बैंकमा राखिएको थियो भने करिब दुई वर्ष अगाडि त्यो जग्गा धनगढीको एनआइसी एसिया बैंकमा राखिएको छ।

दुर्गादेवीलाई आफ्नो पति खडबहादुर चौधरीको नामको जग्गा प्रेमबहादुर बडायक हुँदै धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने नवीन प्रकाश मल्लकी श्रीमती अरुणाकुमारी सिंहको नाममा नामसारी भएको र अरुणाले बैंकमा राखेर ऋण लिएको अहिले आएर थाहा भएको छ। प्रेम बडायकले दुई लाख रुपैयाँ दिएर जग्गा रोक्का गर्ने भन्दै चौधरी दम्पतीलाई झुक्याएर मालपोतबाट आफ्नो नाममा जग्गा नामसारी गरेको र फेरि नवीनप्रकाश मल्लको श्रीमती अरुणाकुमारी सिंहको नाममा जग्गा पास गरेका छन्।
यसरी परे प्रेम बडायको फन्दामा चौधरी दम्पती
पीडित दुर्गादेवी र खडकबहादुर चौधरीका अनुसार २०७२ साल फागुनमा खडकलाई विदेश पठाउने सल्लाह भयो। सामान्य लेखपढसमेत गर्न नसक्ने खडकलाई विदेश पठाउन घरमा भने पैसा थिएन। दुर्गादेवीले खडकलाई विदेश पठाउन पैसा खोज्न लागेको जग्गा दलालीको काम गर्ने छिमेकी शिवप्रसाद चौधरी र माइकल चौधरीलाई थाहा हुन्छ।

शिवप्रसादले नै प्रेमबहादुर बडायकको भेट दुर्गादेवी र परिवारका अन्य सदस्यलाई थाहै नदिई खडकसँग गराएका थिए। शिवुले खडकलाई मालपोत कार्यालय धनगढी बोलाएर प्रेमबहादुर बडायकसँग भेट गराएका थिए। सामान्य लेखपढसमेत गर्न नसक्ने खडकलाई लालपुर्जा बोकेर सुटुक्क आउनु भनिएको थियो। मालपोतमा प्रेमबहादुर बडायकले खडकलाई जग्गा आफ्नो नाममा पास गर्नुपर्ने र दुई लाख रुपैयाँ दिने सर्त राखे।

खडकले विदेश जान पैसा पाउने आशमा आफ्नो नामको साढे १३ कट्ठा जग्गा २०७२ फागुनमा प्रेमबहादुर बडायकको नाममा पास गरे। प्रेमको नाममा आफ्नो जग्गा पास गर्न लाग्ने खर्च ८५ हजार भएको भन्दै खडकलाई प्रेमले दुई लाखको तमसुक बनाएर सित्तैमा जग्गा आफ्नो नाममा नामसारी गर्न सफल भए। यसरी चलाखी र धोका दिएर प्रेमले सित्तैमा जग्गा हत्याएको खडकबहादुर चौधरीको परिवारमा भने प्रेमबहादुरलाई सावाँ र ब्याज चुक्ता गरिसकेपछि थाहा भयो।
यस्तो बनाइयो कागज 
मालपोतमै त्यहाँकै लेखनदास रामचरण थारुले खडकबहादुर र प्रेमबहादुर बडायक बिचको लेनदेनको कागज लेखेको चौधरी दम्पतीले बताए। प्रेमबहादुर बडायकबाट खडकबहादुर चौधरीले दुई लाख रुपैयाँ सयकडा ५ प्रतिशत ब्याजदरमा लिएको कागज तयार गरियो। कागजमा ९ महिनाभित्र उक्त रकम ब्याजसहित प्रेमलाई चुक्ता गर्नुपर्ने, तर ९ महिनाभित्र पैसा चुक्ता गर्न नसके खडकबहादुरको जग्गा प्रेमबहादुर बडायले फिर्ता नगर्ने सर्त राखिएको थियो।

प्रेमबहादुर बडायकले पैसा दिएपछि खडकबहादुर चौधरी विदेश जान्छन्। दुर्गादेवीले पैसा लिएको ६ महिनाभित्रै सावाँ र ब्याजसहित प्रेम बडायकलाई ३ लाख २५ हजार फिर्ता गरिन। तर, पूर्व सर्त अनुसार प्रेमबहादुर बडायकले चौधरी दम्पतीको जग्गा फिर्ता गरेनन्। आज–भोलि भन्दै प्रेमले चौधरी दम्पतीलाई २०७६ माघ महिनासम्म अल्झाउने काम गरे।
फिर्ता गर्छु भनेको जग्गा अर्कैलाई बिक्री 
लेनदेन गर्दा प्रेमबहादुर बडायकले दुई लाखको सावाँ र ब्याज फिर्ता गर्ना साथ जग्गा फिर्ता गर्ने भनेकोमा उनले चौधरी दम्पतीलाई थाहै नदिई उक्त जग्गा धनगढीकै नवीनप्रकाश मल्लको श्रीमती अरुणाकुमारी सिंहको नाममा पास गरेको र त्यो जग्गा अरुणाकुमारी सिंहले बैंकमा राखेकी हुन्। चौधरी दम्पतीले मालपोतमा बुझ्दा जग्गाको मूल्याङ्कन ८५ लाख कायम गरी सिंहले जग्गा धनगढीको एनआइसी एसिया बैंकमा धितो राखेकी हुन्।
झुक्याएर कागत च्यातियो
प्रेमबहादुर बडायकले खडकबहादुरलाई दिएको पैसा फिर्ता भएपछि खडकबहादुरको जग्गा फेरि उनकै नाममा पास गर्नुपर्नेमा लेनदेन कागज समातेर च्यादी दिए। तर, जग्गा फिर्ता गरेनन्। प्रेमले जग्गा फिर्ता गर्छु भनेर मलापोत कार्यालय धनगढी बोलाएर खडकबाट कागज फुत्काएका थिए। त्यसलगत्तै २०७५ मा प्रेमबहादुर बडायकले नवीनप्रकाश मल्लको श्रीमती अरुणाकुमारी सिंहको नाममा जग्गा राजिनामा पास गरेको चौधरी दम्पती बताउँछन्। प्रेमबहादुर बडायकले सिंहबाट के कति पैसा खाए त्यो कुरा चौधरी दम्पतीलाई भने थाहा छैन।
जिल्ला प्रशासन कार्यालयमै पीडित विरुद्ध कागज तयार
प्रेमबहादुर बडायकले सित्तैमा जग्गा हरण गरेको र उक्त जग्गा अरुणाकुमारी सिंहको नाममा स्रेता कायम गरेर अन्याय भएको भन्दै खडबहादुर र दुर्गादेवी चौधरीले जिल्ला प्रशासन कार्यालय कैलालीमा २०८० भदौमा निवेदन दिन्छन्। चौधरी दम्पतीको निवेदन उपर कारबाही गर्दा जिल्ला प्रशासन कार्यालयबाट पीडित चौधरी दम्पतीलाई न्याय दिनुको सट्टा थप अन्याय भएको छ।

चौधरी दम्पतीको जग्गा सित्तैमा आफ्नो नाममा पास गरेका प्रेम बडायकले अरुणाकुमारी सिंहलाई १९ लाख ५० हजार तिर्नुपर्ने र चौधरी दम्पतीले अरुणाकुमारी सिंहलाई २०८० फागुन १३ गतेभित्र ९ लाख ८७ हजार ५ सय तिर्नुपर्ने कागज गराइएको छ। पीडित चौधरी दम्पतीले मिटरव्याज विरुद्ध दिएको निवेदन उपर कारबाही गर्दा जिल्ला प्रशासन कार्यालयले प्रेमबहादुर बडायक र अरुणाकुमारी सिंहबाट शोषणमा परेका चौधरी दम्पतीलाई थप ९ लाख ८७ हजार ५ सय तिर्न बाध्य बनाइएको हो। जबकि अरुणाकुमारी सिंह र नवीन प्रकाश मल्लबाट उनीहरूले एक रुपैयाँ पनि नलिएको बताएका छन्।
डरधम्की देखाएर प्रशासनमै कागज 
जिल्ला प्रशासन कार्यालयमा मिटरव्याज सम्बन्धमा परेका उजुरी उपर छानबिन गर्न खटाइएको प्रहरीहरूले डर धम्की देखाएर कागज तयार गरेको पीडित चौधरी दम्पतीको आरोप छ। आफ्नो जग्गा हड्पेकी अरुणाकुमारी सिंहलाई ९ लाख ८७ हजार ५ सय दिन बाध्य बनाइएको चौधरी दम्पतीको गुनासो छ। कागजमा ‘कसैको करकाप, डर–धाक, धम्कीमा नपरी’ भन्ने उल्लेख गरिएको भए पनि यथार्थमा रोकाया थरका एक प्रहरी सहायक निरीक्षकले चौधरी दम्पतीलाई ‘तिमीहरूले गल्ती गरेका छौँ, पैसा तिर्नैपर्छ’ भनेर थर्काएको चौधरी दम्पतीले बताएका छन्। अरुणाकुमारी सिंहले पैसा दिएको भन्ने जिकिरको कुनै प्रमाण नहेरी प्रहरी र प्रशानका अधिकारीले पीडक अरुणाको भनाइमा विश्वास गरी आफूलाई रकम तिर्न राजी हुन बाध्य पारेको दुर्गादेवी र खडकबहादुर चौधरीको गुनासो छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस