सुदूर नेपाललाई विश्वसँग जोड्दै

मर्यादित महिनावारी अभियानमा डेउडा गायिका

२०८० पुष २८, ११:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा महिलाहरूले महिनावारी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायमै छ।

त्यसैले, महिनावारी भएका नारीलाई घरभन्दा केही पर बनाइएका झुपडी (छाउघर) मा बस्न लगाइन्छ। महिनावारीमा महिलालाई कसैले छुन नहुने र घर परिवारदेखि अलग्गै बस्नुपर्ने परम्परा नै छ। लामो समयदेखि चलिआएको यस्तो परम्परा अन्य जिल्लामा पनि कायम छ। कञ्चनपुर घर भएकी देउडा गायिका रेखा जोशी सुरुमा मर्यादित महिनावारी व्यवस्थापनसम्बन्धी सुदूरपश्चिम सद्भावना दूत थिइन्।

हाल उनी महिनावारी स्वच्छता व्यवस्थापन राष्ट्रिय सद्भावना दूत छन्। उनलाई सुरुमा यो अभियानमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले २०२२ बाट ५ महिनाका लागि जोडेको थियो। अहिले राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालले जोडेको छ। रेखा महिनावारीमा गरिने विभेद हटाउन सुदूरपश्चिमसँगै कर्णाली र देशका विभिन्न जिल्ला पुग्ने गरेकी छन्।

छाउपडी कुप्रथाले जरो गाडेको सुदूरपश्चिममा जन्मिएकी उनले पनि महिनावारी भएका बेला विभिन्न प्रकारका विभेद भोगेकी छन्। अभियानमा जोडिसकेपछि रेखा सुदूरपश्चिमका पाँच जिल्लाका आठ गाउँपालिकामा आयोजित सांस्कृतिक कार्यक्रममा पुगिसकिन्। सांस्कृतिक अभियानमा गाउँ पुग्दा किशोरी तथा महिलाहरूसँग महिनावारीसम्बन्धी छलफल पनि गर्ने गरेको उनले बताइन्।

‘ग्रामीण क्षेत्रमा बिस्तारै परिवर्तन भइरहेको छ। गोठमा बस्ने आमाहरूले छोरीहरूलाई महिनावारी भएका बेला घरकै कोठामा बसाउन थालेका छन्,’ उनी भन्छिन्, ‘महिनावारी बार्नु राम्रो होइन। यो बेला सरसफाइ गर्नुपर्छ भन्ने चेतना बढेको छ।’ रेखाले महिनावारी विभेदविरुद्ध चारवटा जनचेतामूलक गीत पनि गाएकी छन्। उनले यो अभियानमा नजोडिँदै तीनवटा गीत ‘छाउपडी’, ‘छाउपडीको बेला’ र ‘लिलु’ गाएकी थिइन्।

अभियानमा जोडिएपछि ‘खुलेर कुरा गरौं’ नामक जनचेतनामूलक गीत गाएको उनले बताइन्। यही विषयको अर्को गीतको तयारी गरिरहेको उनको भनाइ छ। कक्षा १२ को पढाइ सकेपछि १० दिनको रेडियो तालिम लिएर रेडियोमा देउडा गीतको कार्यक्रम सञ्चालन गर्दै गर्दा रेखालाई पहिलो पटक २०७१ सालमा गायक गोपाल दयालले देउडा गीत ‘घुटुक्क बालुडी लाया’ गाउन दिएका थिए।

उनको यो गीत धेरैले मन पनि पराए। त्यसपछि उनले निरन्तर देउडा गीत गाउँदै आएकी छन्। रेखाका धेरै देउडा र ठाडीभाकाहरू चर्चित छन्। केही वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले रेखालाई सुदूरपश्चिमको देउडा क्षेत्रमा परिचित गराएको छ। यो गीत युट्युबमा समेत २६ लाखभन्दा बढीले हेरेका छन्। – कान्तिपुरबाट

कमेन्ट लोड गर्नुस