सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्षेत्रीय सहरीले धनगढीमा हाइमास्ट र स्मार्ट स्ट्रीट लाइट जडानको स्वीकृत पाएन

२०८० पुष २६, ११:१४ कमल सावद

धनगढीः कैलालीको धनगढीमा क्षेत्रीय सहरी विकासले निर्माण थालेको सडकमा हाइमास्ट र स्मार्ट स्ट्रीट लाइट जडानका लागि पेस गरिएको फाइल सडक विभागमै अड्किएको छ। लामो समयसम्म स्वीकृत नआउँदा बत्ती जडानको काम अनिश्चित बन्न पुगेको हो।

क्षेत्रीय सहरी विकासले धनगढीको १० किलोमिटर सडकमा हाइमास्ट र स्मार्ट स्ट्रीट लाइट जडान तथा चिनिया दुबो लगाउन सडक विभागमा फाइल पठाएको थियो। विद्युतीकरण र हरियालीका लागि केन्द्रमा पठाइएको फाइल अझै स्वीकृत भएको छैन। कालिका कन्स्टक्टनका प्रतिनिधि प्रकाश खरेलले चैत मसान्तसम्म सडक निर्माणका लागि समय थप गर्ने प्रक्रियामा रहेको बताए। उनले भने, ‘फाइल स्वीकृत भएको छैन। चैत मसान्तसम्म समय थप हुन्छ। २० दिन भित्र भेरियसनको काम होला। ८२ प्रतिशत काम सकियो। एक महिना भित्र भेरियसन बाहेकको काम सकिन्छ। १३ सय मिटर चौराह–कैलाली पुल सडक र ४० मिटर मालपोत रोडको काम बाँकी छ।’

कैलालीको धनगढी उपमहानगरपालिकाभित्र क्षेत्रीय सहरीले १० किलोमिटर सडक निर्माण गर्दैछ। क्षेत्रीय सहरी विकास आयोजना, धनगढीमार्फत सातवटा सडकको १० किलोमिटरमा एक दशमलव तीन किलोमिटर मुख्य सडक र मालपोत सडकमा ४० मिटर कालोपत्रको काम बाँकी छ। खानोपनी र विद्युत पोलको समस्या समाधान भएको छ। तर, सडक विभागमा पठाइएको विद्युतीकरण र हरियालीको फाइल भने स्वीकृत भएको छैन। कालिका कन्स्टक्टनका प्रतिनिधि प्रकाश खरेलले विद्युतका पोल र खानेपानीको पाइप विस्तारको काम सकिएको बताए। उनले भने, ‘डिजी सापले गर्नु काम बाँकी छ। यताको काम केही पनि छैन। पाँच प्रतिशत भेरियसन बढ्ने देखिएको छ।’

धनगढीमा ६० वाट क्षमताका बल्क काम नलाग्ने भएपछि खारिज गरिएको छ। धनगढीको राष्ट्र बैँकदेखि पिपलचौतारासम्म जडान गरिएका बल्क काम नलाग्ने भएका छन्। बत्ती, बिरुवा र चिनियाँ दुबो रोप्ने काम थप गर्न स्वीकृतीका लागि फाइल केन्द्रमा पठाइएको हो। तर, निर्माण थालिएका सातवटा सडकमा १५ वटा हाइमास्ट तथा १० किलोमिटर स्मार्ट स्ट्रीट लाइट जडान, वृक्षारोपण र चिनियाँ दुबो लगाउने काम गर्न स्वीकृत आएको छैन। उज्यालो धनगढीका लागि लाइट जडानका लागि स्वीकृत नभको खरेलले बताए।

१२० वाट क्षमताका बल्बसहितको स्मार्ट स्ट्रीट लाइट जडानको लागि स्वीकृत माग गरिएको हो। कात्तिकमा सकिएको सडक निर्माणको काम चैतसम्मका लागि समय थप गरिएको छ। सडक निर्माणको समय सकिए पनि नयाँ कामका लागि स्वीकृतसमेत आएको छैन। अहिलेसम्म सडक निर्माणको काम ८२ प्रतिशत मात्र देखिएको छ।

१० दशमलव ६८७ किलोमिटरमा धनगढीको मुख्य सडक एक दशमलव तीन र ४० मिटर मालपोत सडक कालोपत्रको काम बाँकी छ। खानेपानी, विद्युतका पोललगायतको काम पूरा भएको छ। क्षेत्रीय सहरी विकास र कालिका कन्स्ट्रक्सबिच २०७७ असार २८ मा सडक कालोपत्र गर्न सम्झौता भएको थियो। धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, दुई दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि सम्झौता गरिएको थियो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस