सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा अस्पतालमा बिरामीको चाप बढ्दै, ८३ दिनमा १३ सय २ बिरामीको उपचार

२०८० पुष २५, १२:२० कमल सावद

धनगढीः कैलालीको गेटा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। अस्पताल सञ्चालनमा आएको ८३ दिनमा १३ सय दुई बिरामीले उपचार सेवा प्राप्त गरेको अस्पतालको तथ्यांक छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्षको असार पहिलो साता गेटामा अस्पताल सञ्चालनका लागि निर्देशकको रुपमा डाक्टर प्रमोद जोशीलाई जिम्मेवारी दिएको थियो।

अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि कात्तिक १ गतेबाट गेटामा अस्पताल सञ्चालनमा आएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको अस्पतालबाट अहिलेसम्म एक हजार तीन सय २ जनाले उपचार सेवा पाएका छन्।

अस्पताल सञ्चालनमा आएको ८३ दिनमा एक हजार तीन सय २ बिरामीले उपचार सेवा पाएका हुन्। अस्पतालका प्राविधिक भरत जोशीले मङ्गलवारसम्म एक हजार तीन सय दुई बिरामीले उपचार सेवा पाएका बताए। उनले भने, ‘कात्तिक १ गतेदेखि एक हजार तीन सय २ जनाले सेवा लिएका छैन। एक दिनमा ३० देखि ४० बिरामी आउने गरेका छ।’

गेटामा एक सय शय्या क्षमताको अस्पताल सञ्चालनमा आएपछि दैनिक ३० देखि ४० जना बिरामीले स्वास्थ्य उपचार सेवा पाउँदै आएका छन्। जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा गेटा अस्पतालले उपलब्ध गराउँदै आएको छ। तर, अस्पतालले सेवा विस्तारका लागि मासिक रुपमा बनाएको कार्यतालिका भने स्वीकृत भएको छैन।

२४ जनाबाट सुरु गरिएको अस्पतालमा अहिले ३२ जना कर्मचारी छन्। तर, निःशुल्क उपचार सेवाबाहेक अन्य सेवा थप गर्न सकिएको छैन। अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले मन्त्रालयको मौखिक निर्देशनमा आधारमा सेवा विस्तारको काम जारी रहेको बताए। उनले भने, तालिका सबै स्वीकृत नभएको होइन। केही कार्यक्रम स्वीकृत भएका छन्। सेवा बिस्तार पनि भएको छ। मौखिक रुपमा सेवा विस्तार गर्दै जानु भन्नु भएको छ। हामीले काम गर्दैछौ।’

अस्पताल सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो। सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन गरिएको हो। गेटामा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २४ जनाले सेवा सुरु गरेका थिए। अहिले ३२ जना पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागहरुबाट कर्मचारी पठाउने काम जारी छ। तर, सेवा विस्तारका लागि जनशक्तिसँगै उपकरणको समेत अभाव देखिएको छ।

उनले भने, बिमाको पदाधिकारी नयाँ भएकाले समय लागेको हो। एमसिएचका लागि काम सुरु भएको छ। सामाजिक इकाइबाट हुने सेवा पनि सुरु भएको छ।’ गेटामा एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र सञ्चालनको तयारी थियो। तर, एमसीएच सेवा मात्र सुचारु भएको छ। बाँकी कार्य तालिका अनुसारको सेवा विस्तार भएको छैन। अस्पतालले शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी थियो। नेपाल सरकारले गर्ने निःशुल्क उपचार सेवा भने विस्तार भएको छ। कात्तिक १ गतेबाट सुचारु भएको अस्पतालले ७५७ महिला र ५४५ पुरुषलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस