सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक बाउन्स भए बैकिङ कसुरमा मुद्दा, ६३ उजुरी कैलाली प्रहरीमा दर्ता

२०८० पुष २३, ०२:४९ खबर संवाददाता

धनगढीः चेक बाउन्स भए बैकिङ कसुरमा मुद्दा लाग्छ। यही कसुर अन्तर्गत कैलालीमा ६३ मुद्दा दर्ता भएका छन्।

सर्वोच्च अदालतले रकम नभएर चेक नसाटिए अर्थात चेक बाउन्सको विषय बैंकिङ कसुर भएको ठहर गरेको छ। बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) मा आफ्नो खातामा मौज्दात रकम नभएको जानी–जानी चेक काटी दिनुलाई पनि कसूर मानेको छ। सर्वोच्चले चेक बाउन्सको मुद्दा बैंकिङ कसूर नै भएको तर पीडितले नै विनिमय अधिकारपत्र ऐन, २०३४ अनुसार कानुनी उपचार खोज्न भने पाउने उल्लेख गरेको छ।

चेक बाउन्समा विनिमय अधिकारपत्र ऐन ३०३४ र बैंकिङ कसुर तथा सजाय ऐन २०६३ दुवैले सजायको व्यवस्था गरेका छन्। विनिमयपत्र अधिकार ऐनको दफा २०७ (क) मा भनिएको छ, ‘बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बन्धित बैंक समक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंकबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लेखित रकम र ब्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’

त्यस्तै बैंकिङ कसुर तथा सजाय ऐन २०६४ ले भने तीन महिना कैद, बिगो भराउने र बिगो बमोजिम जरिवाना गर्ने सजायको व्यवस्था छ। कैलालीमा बैंकिङ कसुरका मुद्दा दैनिक रुपमा बढ्न थालेको छ। कैलाली प्रहरीमा मात्र चालु आर्थिक वर्षको पौष दोस्रो सातासम्म बैकिङ कसुरका ६३ मुद्दा दर्ता गरेको छ। जुन गत आर्थिक वर्ष २०७९/८० मा यस्तो संख्या एक सय तीन थियो।
के हो  चेक बाउन्स?
भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने त्यो ‘चेक बाउन्स’ हुनु हो। खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ।

एउटै चेक धेरै पटक बाउन्स भएको खण्डमा त्यसलाई बैंकिङ कसुरका रुपमा लिने गरिन्छ। एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्ने कानूनी व्यवस्था पनि छ। साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुन्छ।
चेक बाउन्स भए के गर्ने?
बैंक तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउँछन्। यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैंकमा भुक्तानीका लागि आयो र त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैंक तथा वित्तीय संस्थाले उजुरी दिन्छन्।

हरेकपटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट भने माग्नुपर्छ। चेक बाउन्स हुँदा बैंकले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन्। यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैंक आफैले जानकारी दिने गर्दछ। तीन पटकसम्म पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्नुपर्छ। कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउँदैनन्।

कमेन्ट लोड गर्नुस