सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बोगटान फुड्सिलमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन

२०८० पुष २३, ०८:४८ खबर संवाददाता

डोटीः डोटीमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरिएको छ।  बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरको सेउडेखेतमा सामुदायिक स्वास्थ्य इकाईको आइतवार उद्घाटन गरिएको हो।

एक कार्यक्रमका बिच आइतवारबाट सेवा प्रारम्भ हुनेगरि सेउडेखेत सामुदायिक स्वास्थ्य इकाई को उद्घाटन गरिएको जनाइएको छ। सेउडेखेतमा स्वास्थ्य इकाई को स्थापना भएसँगै त्यहाँका ५९ र छिमेकी पालिका बडिकेदारका ५३ सहित एक सय १२ घरपरिवार लाभान्वित हुने वडा अध्यक्ष खेम घर्तिमगरले बताए।

वडा अध्यक्षका अनुसार स्वास्थ्य इकाईबाट बोगटानका सेउडेखेत, झ्यामतोला, गुइनडा तथा बडिकेदारका केदारमाण्डौँ, सैनीगाउँ, जैनडा र सिउनाराका बासिन्दा लाभान्वित हुने छन्। परिवार नियोजन सेवा, ओपिडी सेवा, खोप सेवा, पोषण सेवा, गर्भवती जाँच लगायतका सेवा स्वास्थ्य इकाई बाट प्रदान हुने छन्।  

यसअघि यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन लामो बाटो हिँडेर छिडीखान अथवा बडिकेदारको मार्कोट जानुपर्ने बाध्यता थियो। स्वास्थ्य इकाई को उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले स्वास्थ्य इकाईको सेवा स्तरीकरणको लागि पालिका तयार रहेको बताए। नागरिक स्वस्थ भएपछि मात्रै अन्य काम ध्यान दिन सक्ने भएकाले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहने अध्यक्ष गड्सिलाले बताए।
 

कमेन्ट लोड गर्नुस