त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । यस पटक प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न लागिएको हो।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने र विश्वविद्यालयमा दलीय भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका छन्। त्यहीअनुसार शिक्षामन्त्रीको संयोजकत्वमा उपकुलपति नियुक्तिका लागि सिफारिस समितिसमेत गठन भएको छ। धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ।
समितिले शुक्रबार सूचना जारी गर्दै उपकुलपतिमा दरखास्त दिनका लागि विभिन्न योग्यतासमेत सार्वजनिक गरेको छ। उपकुलपतिमा दरखास्त दिनका लागि स्नातकोत्तर र विद्यावारिधि तहका शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि तथा प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ।
त्यस्तै विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ। त्यस्तै ३ हजार शब्दसम्ममा विश्वविद्यालयसम्बन्धी सोचपत्र(भिजन पेपर), ५ हजार शब्दसम्म ४ वर्षे व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ।