सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ६ लेन सडकमा छुट्टै ‘साइकल लेन’ तयार, राइड गर्ने तयारी

२०८० पुष १८, १०:४४ खबर संवाददाता

धनगढीः मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रभित्र छुट्टै साइकल लेन तयार भएको छ।

साइकल लेनको ट्याक निर्माण विकास निर्माण सेवा कोहलपुरले गरेको हो। सडकको दुबै साइड गरी करिब १६ किलोमिटर सडक खण्डमा साइकल ट्याक निर्माण गरिएको छ। यसका लागि उपमहानगरपालिकाले २०८० कात्तिक १६ गते दुई महिनाको म्याद राखेर मंसिर १६ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता गरेको थियो।

उपमहानगरको भैपरी आउने पुँजीगत शिर्षकबाट बजेटको रकमान्तर गरेर आधुनिक र सुविधासम्पन्न साइकल लेन बनाउने काम पुरा भएको छ। साइकल लेन बनाउन ४६ लाख ५० हजार बजेटको व्यवस्था गरिएको थियो। ६ लेन सडकको दुबैतिर हरियो कलर लगाएर साइकलको ट्याक निर्माण गरिएको धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जियनर एवं सहरी विकास तथा प्राविधिक महाशाखा प्रमुख दिजराज भट्टले बताए।

सडकको दायाँबायाँ प्रिन्ट गर्दै तथा साइकलको तस्वीर बनाएर लेन समेत छुट्याउने काम भएको छ। थर्मप्लाष्टिक नामक पेन्ट उपकरणको सहायताबाट साइकल लेन बनाइएको हो। यस्तो पेन्ट बजबुद र टिकाउ हुने उपमहानगरपालिकाले जनाएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रभित्र राखिएका सबै डिभाइडर यसअघि नै हटाइसकिएको छ।

ती स्थानमा सडकको अवरोध नहुने गरी साइकल लेन बनाइएको हो। यसले सहरी सौन्दर्यता बढ्नुका साथै दुर्घटनामा समेत कमि आउने अपेक्षा उपमहानगरले गरेको छ। धनगढीको ६ लेन सडकमा साइकल लेन बनाउन उपमहानगरको नगरकार्यपालिका बैठकले निर्णय नै गरेर त्यसका लागि बोलपत्र आह्वान गरेको थियो। साइकल लेनमा ठूला तथा अन्य सवारी चलाउन पाइने छैन्।

साइकलका चित्र भएका लेनमा केबल साइकल मात्र चलाउन पाउने गरी उपमहानगरले युग सुहाउँदो साइकल लेन निर्माण गरेको छ। सुदूरपश्चिममै पहिलो पटक उपमहानगरपालिकाले साइकल लेन बनाएको छ। यही पौष २१ गते शनिबारका दिन बिहान ८ बजे साइकल लेनको उद्घाटन र जनचेतनामुलक राइड हुने समेत उपमहानगरले जनाएको छ। सो दिन साइकल यात्रीहरुको उपस्थितिमा भन्सार रोडबाट धनगढी बिमानस्थल जाने बाटोसम्म उद्घाटन राइड गरिनेछ। यसबाट साइकलयात्रीहरु सबैभन्दा बढी उत्साहित देखिएका छन्।

कमेन्ट लोड गर्नुस