एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीमा नयाँ नेतृत्व

धनगढीः एमालेले प्रदेश सम्पर्क कमिटीहरूको अधिवेशन सुरु गरेको छ।
आइतबारसम्म पाँच प्रदेश सम्पर्क कमिटीको अधिवेशन सकिएको छ। सात भौगोलिक र एक उपत्यकाविशेष गरी आठ प्रदेशको अधिवेशन सकिएलगत्तै एमालेले गैरभौगोलिक क्षेत्रअन्तर्गत पर्ने प्रदेश सम्पर्क कमिटीको अधिवेशन अगाडि बढाएको हो। प्रदेश सम्पर्क कमिटीको अधिवेशन सकिएलगत्तै जिल्ला सम्पर्क मञ्चहरूको अधिवेशन गर्ने एमालेको तयारी छ।
केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अधिवेशन सम्पन्न गरेको बताए। जसअनुसार आइतबार सम्पन्न सुदूरपश्चिम सम्पर्क कमिटीको अध्यक्षमा सुरतबहादुर खत्री, उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्रबहादुर साउद, उपसविचमा पार्वती कठायत र नरेश धमेना चयन भएको एमाले केन्द्रीय कार्यालय सचिव खेम बोहराले बताए।
एमालेले नवौँ महाधिवेशनपछि विधानमै व्यवस्था गरेर प्रदेश सम्पर्क कमिटीलाई पनि जिल्ला कमिटी सोसरहकै हैसियतमा काम गर्ने गरी मान्यता दिँदै आएको छ। केन्द्रीय सम्पर्क समन्वय कमिटीलाई भने भूगोल क्षेत्रको प्रदेश कमिटी सोसरहको मान्यता दिइएको छ।

