सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राना परिवारको ८ बिघा तीन कट्‍ठा जग्गा गायब भएको विषय अख्तियारमा

२०८० पुष १२, १२:४८ कमल सावद

धनगढीः कैलालीको धनगढीमा एक परिवारको आठ बिघा तीन कट्‍ठा जग्गा गायब भएको विषय अख्तियारमा पुगेको छ। धनगढी उपमहानगरपालिका– १३ राजपुर, धनगढी–अत्तरिया ६ लेन सडक क्षेत्रमा पर्ने ८ बिघा तीन कट्टा जग्गा गायब भएको भन्दै रामचरण राना परिवार अख्तियारसम्म पुगेका हुन्।

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ मा बसोबास गर्दै आएका रामचरण राना र राम सिट रानाको परिवारको जग्गा गायब भएको भन्दै अख्तियारमा पुगेपछि मालपोत कार्यालय, धनगढीले पत्र पठाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंङ्गाल काठमाण्डौले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्र पठाएपछि मालपोत कार्यालय, धनगढीले खुलाई पत्र पठाएको हो। मालपोत कार्यालय, कैलालीले असोज २६ गते पठाएको पत्रमा अख्तियारलाई पत्रको बोधार्थ पठाइएको छ।

राना परिवारको धनगढी उपमहानगरपालिका– १३ राजपुरमा ६ लेन सडक क्षेत्रमा ८ बिघा तीन कट्ठा जग्गा रहेको थियो। तर, मालपोत कार्यालय कैलालीका कर्मचारी र भूमाफियाहरूले जमिन गायब पारेको उनीहरूको आरोप छ। मालपोत कार्यालय, धनगढीले भूमि व्यवस्था तथा अभिलेख विभागलाई पठाएको पत्रका अनुसार कित्ता नम्बर ३६० को जग्गा २०३४ मङ्सिर १३ गते हरिदासी रानाका नामबाट सिद्धराज उप्रेतीको नाममा गएको छ। तर, हरिदासीको नाम जग्गा रहेको प्रमाण मालपोत कार्यालय, कैलालीसँग छैन्। मालपोत अधिकृत नन्दलाल पाण्डेले विभागलाई पठाएको पत्रमा समेत उक्त विषय समावेश भएको छैन।

वि.स २०१९ सालसम्म सरकारलाई कर बुझाएका रामचरणको जमिनको कुनै अत्तो पत्तो छैन। वि.स १९९०, २०११, २०१३ र २०१९ सालमा स्वर्गीय चिमाडी राना थारूले आठ बिघा तीन कट्‍ठा जमिनको कर श्री ५ को सरकारलाई बुझाएका बिलहरू राना परिवारसँग छन्। नातिहरू राम चरण र राम सिटले मालपोत कार्यालय कैलालीमा २०७९ चैत ८ गते पेस गरेको निवेदनमा २०१९ सालसम्म श्री ५ को सरकारलाई तिरो तिरेको बिलहरू सुरक्षीत रहेको भनिएको छ।

सरकारले २०२१ सालमा जग्गाको सर्भे गरेको थियो। सोही समयमा भूमि सम्बन्धी ऐन, २०२१ जारी भएको थियो। २०३४ सालमा मालपोत ऐन आयो। तर, २०३४ सालबाट राना परिवारको जग्गा हराएको छ। साविकको तारानगर–६ मा पर्ने ८ बिघा तीन कट्‍ठा जग्गा हराएको भन्दै उनीहरूले २०८० असार २० गतेसमेत मालपोत कार्यालयमा निवेदन दिएका छन्। पटक–पटक मालपोत कार्यालय र नापी कार्यालयमा राना परिवारले निवेदन दिएको भए पनि अहिलेसम्म जग्गाको अवस्थाका बारेमा उनीहरू अनभिज्ञ छन्। स्व. चिमाणी रानाका नाति रामचरणले धनगढीमा रहेको जमिन गायब भएको बताए। कित्ता नम्बरहरू ३५२, ३५५, ३५६, ३५७, ३५८ र ३६० को जमिन गायब भएको छ। पुरानो कित्ता नम्बरहरू किर्ते गरेर हरिदास रानाको नामबाट सिद्धराज उप्रेतीको नाममा गएको बुझाइ उनीहरूको छ। उप्रेतीको नाममा २९ कट्‍ठा जग्गा मात्र नामसारी गरिएको छ। हरिदास राना भारतीय नागरिकसमेत रहेको उनीहरूले बताए। हरिदासको नाममा जग्गा कसरी आयो भन्ने बारेमा उनीहरूले मालपोत कार्यालयबाट जवाफ पाएका छैनन।

धनगढीमा राना परिवारको ८ बिघा तीन कट्‍ठा जग्गा गायब

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस