सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राना परिवारको ८ बिघा तीन कट्‍ठा जग्गा गायब

राना परिवारको लालझाडीको बस्ती
राना परिवारको लालझाडीको बस्ती
२०८० मंसिर २१, १०:४९ कमल सावद

धनगढीः कैलालीको धनगढीमा एक परिवारको आठ बिघा तीन कट्‍ठा६ जग्गा गायब भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुर, धनगढी–अत्तरिया ६ लेन सडक क्षेत्रमा पर्ने ८ बिघा तीन कट्टा राना परिवारको जग्गा गायब भएको हो।

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ मा बसोबास गर्दै आएका रामचरण राना र राम सिट रानाको परिवारको जग्गा गायब पारिएको छ। उनीहरूको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा ६ लेन सडक क्षेत्रमा ८ बिघा तीन कट्‍ठा जग्गा रहेको थियो। तर, मालपोत कार्यालय कैलालीका कर्मचारी र भूमाफियाहरूले जमिन गायब पारेको उनीहरूको आरोप छ।

राना परिवार जग्गाको खोजीका लागि मालपोत र नापी कार्यालय कैलाली धाउन थालेको वर्षौँ भएको छ। उनीहरूले राजनीतिक दलका नेताहरू, नापी र मालपोतका कार्यालय प्रमुख लगायतसँग कयौ पटक भेट गरेका छन्। तर, २०१९ सालसम्म सरकारलाई कर बुझाएका उनीहरूको जमिनको कुनै अत्तो पत्तो छैन। वि.स १९९०, २०११, २०१३ र २०१९ सालमा स्वर्गीय चिमाडी राना थारूले आठ बिघा तीन कट्‍ठा जमिनको कर श्री ५ को सरकारलाई बुझाएका बिलहरू राना परिवारसँग छन्। नातिहरू राम चरण र राम सिटले मालपोत कार्यालय कैलालीमा २०७९ चैत ८ गते पेस गरेको निवेदनमा २०१९ सालसम्म श्री ५ को सरकारलाई तिरो तिरेको बिलहरू सुरक्षीत रहेको भनिएको छ।

सरकारले २०२१ सालमा जग्गाको सर्भे गरेको थियो। सोही समयमा भूमि सम्बन्धी ऐन, २०२१ जारी भएको थियो। २०३४ सालमा मालपोत ऐन आयो। तर, २०३४ सालबाट राना परिवारको जग्गा हराएको छ। साविकको तारानगर–६ मा पर्ने ८ बिघा तीन कट्‍ठा जग्गा हराएको भन्दै उनीहरूले २०८० असार २० गतेसमेत मालपोत कार्यालयमा निवेदन दिएका छन्। पटक–पटक मालपोत कार्यालय र नापी कार्यालयमा राना परिवारले निवेदन दिएको भए पनि अहिलेसम्म जग्गाको अवस्थाका बारेमा उनीहरू अनभिज्ञ छन्। स्व. चिमाणी रानाका नाति रामचरणले धनगढीमा रहेको जमिन गायब भएको बताए। उनले भने, ‘हाम्रो कित्ता नम्बरहरू ३५२, ३५५, ३५६, ३५७, ३५८ र ३६० को जमिन गायब भएको छ। पुरानो कित्ता नम्बरहरू किर्ते गरेर हरिदास रानाको नामबाट सिद्धराज उप्रेतीको नाममा गएको छ। उप्रेतीको नाममा २९ कट्‍ठा जग्गा मात्र नामसारी गरिएको छ। हरिदास राना भारतीय नागरिक हुन्। हरिदासको नाममा जग्गा कसरी नामसारी भयो त्यसको कुनै प्रमाण मालपोत र नापी कार्यालयमा फेला पार्न सकिएको छैन।'

उनीहरूले पटक–पटक नापी र मालपोत कार्यालयमा अकडा फारममा रहेको जग्गाको बारेमा जानकारी लिन खोज्दा पनि नपाएको बताए। यता, मालपोत कार्यालय कैलालीले राना परिवारको जग्गा रहेको क्षेत्रमा २९ कट्‍ठा जग्गा मात्र अन्य व्यक्तिको नाममा गएको बताएको छ। तर, बाँकी जग्गा उक्त क्षेत्रमा नापजाँच नभएको तर्क मालपोत कार्यालय कैलालीको छ। सो जग्गा २०३४ सालमा नामसारी गरिएको भनिएको सो विषयमा मालपोत कार्यालय कैलालीका प्रमुख प्रेमबहादुर दौल्याल बोल्न चाहेनन्। उनले विभागले समस्या गर्ने भन्दै प्रतिक्रिया नदिएका हुन्। मालपोत कार्यालय कैलालीको तथ्याङ्क अनुसार साविकको ३६० नम्बर कित्ता २०३४ सालमा सिद्धराज उप्रेतीको नाममा गएको छ। राना परिवारको बाँकी कित्ताहरूको भने कुनै अभिलेख मालपोत कार्यालय कैलालीले उपलब्ध गराएको छैन। कित्ता नम्बर ३६० को जग्गाको अहिले २९ नम्बर कित्ता कायम गरिएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस