लागुऔषध दुर्व्यसनीलाई राख्न धनगढीमा सुधार केन्द्र सञ्चालनमा आउँदै

धनगढीः लागुऔषध दुर्व्यसनीमा फसेकाहरुलाई राख्न कैलालीको धनगढीमा सुधार केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
मदिरा र लागुऔषधको दुर्व्यसनीमा फसेका व्यक्तिलाई सुधार गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढीको फूलबारीमा सुधार केन्द्र सञ्चालन गर्न लागेको हो। दुई सयजना दुर्व्यसनीलाई राख्न मिल्ने क्षमताको आसरा सुधार केन्द्र केही दिनमै सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम चौधरीले बताएका छन्।
प्रहरी महानिरीक्षकबाट सुधार केन्द्रको उद्घाटन गराउने तयारी छ। तत्काल ५० जना दुव्र्यसनी राखेर सुधार केन्द्र सुरुवात गरिनेछ। सुधार केन्द्र सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले प्रदेश प्रहरी कार्यालयलाई फूलबारीमा एक बिघा १८ कट्ठा जग्गा र भवन उपलब्ध गराएको छ। जग्गा र त्यहाँ बनेका भवन उपमहानगरले प्रदेश प्रहरीलाई २० वर्षका लागि दिने र प्रदेश प्रहरीले त्यहाँ सुधार केन्द्र सञ्चालन गर्ने सहमति दुई पक्षबिच भएको हो।
लागुऔषधको कुलतमा फस्ने युवायुवतीको संख्या बढ्न थालेपछि प्रहरीलाई जग्गा र भवन उपलब्ध गराएर सुधार केन्द्र सञ्चालन गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ। सुधार केन्द्रमा भर्ना हुने दुर्व्यसनीलाई औषधि उपचारसँगै मनोपरामर्श र ध्यान, योगहरू गराइने प्रहरीले जनाएको छ। दुव्र्यसनीलाई चार महिनादेखि आवश्यकताअनुसार त्योभन्दा बढी समय राखिने भएको हो।
सुधार केन्द्रमा रहँदासम्म उपचारसँगै मानसिक रोग विशेषज्ञले उनीहरूका आनीबानीको नियमित निगरानी गर्ने र कुलतमुक्त भएपछि घर पठाइने भएको हो। खान, बस्न, उपचारलगायत सबै व्यवस्थापनका लागि भर्ना हुन न्यून शुल्क निर्धारण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भरतबहादुर बोहराले लागुऔषध मुद्दामा पक्राउ परेकाहरू भने कानुनी कारबाहीको दायरामा जाने बताएका छन्। लागुऔषध मुद्दामा पक्राउ परेकाहरू कैदमुक्त भएपछि भने सुधार केन्द्रमा राख्न सकिने उनले बताएका हुन्। सुदूरपश्चिममा गत वर्ष मात्र लागुऔषधसम्बन्धी पाँच सय ४० वटा मुद्दा अदालतमा दर्ता भएका छन्। ती मुद्दामा ८ सय ६० जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। जसमध्ये ६६ जना महिला छन्।



