सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोदोधरा अस्पताल बर्दगोरियाबाट ८ महिनामै १७ हजार बिरामीको उपचार

२०८० पुष ४, १०:१८ कमल सावद

धनगढीः नेपाल सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’को नीति छ। सबै स्थानीय तहमा एक अस्पताल अनिवार्यको नीति अनुसार पहिलो पटक कैलालीको बर्दयोरियामा १५ शय्याको अस्पचाल सञ्चालनमा छ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वैशाख १५ गते उद्घाटन गरेको अस्पतालबाट हरेक महिना एक सय बिरामीको उपचार हुँदै आएको छ। दुई जना चिकित्सकहरुले ओपिडी सेवा दिदै आएका छन्। अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा दिदै आएको छ। नेपालका ७५३ स्थानीय तहहरुमा पहिलो पटक बर्दगोरिया गाउँपालिकाले अस्पताल सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए।

उनले भने, ‘भौतिक निर्माणमा १८ करोड खर्च भएको हो। प्रयोगशालाका उपकरण लगाएतका सामाग्रीका लागि गरेर २५ करोडसम्म खर्च भएको छ। गाउँपालिकाले जनशक्तिको व्यवस्थापन गरेको छ। ७५३ मा हाम्रो पहिलो हो। प्रदेशका मुख्यमन्त्री ज्यूले बजेट हाल्नु भएको छ। ६ गतेबाट बीमाको कार्यक्रमसमेत सुरु हुन्छ। अस्पतालमा ४८ जनाको जनशक्ति छ।’

बर्दगोरिया गाउँपालिका मातहतको १५ शय्याको अस्पतालले छिमेकी घोडाघोडी र लम्की–चुहा नगरपालिका तथा मोहन्याल गाउँपालिकाको पूर्वी–दक्षिर्णी क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार सेवा दिदै आएको छ। अस्पतालमा निःशुल्क औषधिको सुविधा रहेको छ। प्रयोगशाला परिक्षणका लागि मात्र न्यून शुल्क लिने गरिएको छ। अस्पतालमा प्रसूति सेवा तथा गर्भपतन सेवासमेत सञ्चालन गरिएको छ।

औषधि बिक्री तथा फार्मेसी सेवासमेत अस्पतालमा छ। अस्पचालमा एक्सरे सेवा तथा भिडिओ एक्सरे सेवासमेत छ। पुस ६ गतेबाट स्वास्थ्य बीमा सेवासमेत सुरु गर्ने तयारीमा अस्पताल रहेको छ। अस्पताल प्रशासन प्रमुख शिवकुमार कठरियाले प्रत्येक दिन एक सय जना बिरामीले उपचार पाउदै आएको बताए। उनले भने, ‘हामीले वैशाखबाट सेवा सुरु गरेका हौ। एक महिनामा २ हजारले सेवा लिदै आएका छन्। आकस्मिक कक्षबाट थप सय जनाले एक महिनामा सेवा लिने गरेका छन्।

दोदोधारा अस्पतालमा बर्दगोरिया गाउँपालिकाका सबै, मोहन्याल गाउँपालिका, जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिकाका नागरिकले स्वास्थ्य सेवा लिने गरेका छन्।’ उनका अनुसार अस्पताल सञ्चालन भएदेखि हालसम्म झण्डै १७ हजारले दोदोधारा अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिएका छन्। बर्दगोरिया गाउँपालिका कार्यालयसँगै दोदोधारा अस्पतालको भवन १० कट्ठा जमिनमा निर्माण गरिएको छ।

अस्पतालका लागि अपाङ्ग मैत्री भवन निर्माण गरिएको छ। संघीय सरकारले निर्माण गरेको भवनमा सुदूरपश्चिम सरकारको सहयोगमा उपकरणहरु जडान गरिएको हो। उपकरणसहित अस्पतालका लागि २५ करोडसम्म खर्च भएको छ। अस्पताल सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन भने गाउँपालिकाले गर्दै आएको छ। अस्पतालमा आउने बिरामीहरुमा सामान्य रुगाखोकिदेखि जटील नसर्ने रोगका पनि छन्।

नियमित औषधि सेवन गर्नुपर्ने बिरामी सो दोदोधारा अस्पतालमा आउने गरेका डाक्टर बिराज मण्डलले बताए। उनले भने, ‘सेवा विस्तार गर्दै गएका छौ। बिरामीहरुको सङ्ख्यासमेत बढ्दै गएका छन्। एक दिनमा सयसम्म बिरामी ओपीडीमा हेर्ने गरेका छौ। पहिला १५० सम्म हेरेका थियो।’ डाक्टर मण्डलका अनुसार दोदोधारा अस्पतालमा नसर्न रोगहरु प्रेसर, सुगर, कोल्डस्टोर, दम, निमोनिया, टिभी लगाएतका  रोग भएका बिरामीहरु उपचारका लागि बढी आउने गरेका छन्।

बर्दगोरिया गाउँपालिकाको दोदोधारा अस्पतालबाट छिमेकी स्थानीय तहका नागरिक समेत लाभान्वित भएका छन्। वैशाख १५ गतेबाट सञ्चालनमा आएको गाउँपालिकाको १५ शय्याको अस्पतालबाट छिमेकी पालिका घोडाघोडी र लम्की–चुहा नगरपालिका तथा मोहन्याल र जोशीपुर गाउँपालिकाका नागरिक समेत बिरामी पर्दा लाभान्वित भइरहेका हुन्।

सो अस्पतालमा २ जना एमबीबीएस चिकित्सकसहितको व्यवस्था गरिएको छ। २४ सै घण्टा आकस्मीक सेवा दिदै आएको दोदोधारा अस्पतालले शल्यक्रिया सेवासमेत विस्तार गर्ने अध्यक्ष कुँवरले बताए। सामान्य शल्यक्रिया हुँदै आएको अस्पचालमा जटिल प्रकारका शल्यक्रिया सेवाका लागि चिकित्सकसँगै उपकरणसमेत जडान गर्ने योजनामा रहेको उनले बताएका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस