सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तीन वर्षको अवधिमा फुटकर र भवितव्यमा परेर ४३२ जनाको मृत्यु

२०८० पुष १, १०:४४ खबर संवाददाता

धनगढीः कैलालीमा फुटकर र भवितव्यमा परेर तीन वर्षको अवधिमा चार सय ३२ जनाको मृत्यु भएको छ।

कैलालीमा भवितव्यमा परेर ज्यान गुमाउनेको संख्या धेरै देखिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भवितव्यमा परेर तीन वर्षको अवधिमा दुई सय ६३ जनाको ज्यान गएको छ। त्यस्तै, सो अवधिसम्म एक सय ६९ वटा फुटकर ज्यान मुद्दा दर्ता भएका छन्। प्रहरीका अनुसार चट्याङ, करेन्ट, डुबेर, आगोमा परेर र हिँड्दा लडेका वा रूखबाट खसेर भएका मृत्युलाई भवितव्य भन्ने गरिएको छ।

नागरिकको अचानक ज्यान गयो। तर, ज्यान जानुको कारण नखुलेको हकमा फुटकर ज्यान भन्ने गरिएको छ। कैलालीमा आर्थिक वर्ष २०७७/७८ मा भवितव्य अर्थात चट्याङ, करेन्ट, डबेर, आगोमा परेर लगायत घटनाबाट एक सय २३, आर्थिक वर्ष २०७८/७९ मा ८८ र गत आर्थिक वर्ष २०७९/८० मा ५२ गरी दुई सय ६३ जनाको ज्यान गएको छ।

त्यस्तै फुटकर अर्थात अचानक ज्यान गुमाएका तथा मृत्युको कारण नखुलेकाको संख्या आर्थिक वर्ष २०७७/७८ मा ५६, आर्थिक वर्ष २०७८/७९ मा ५० र गत आर्थिक वर्ष २०७९/८० मा बढेर ६३ गरी कुल एक सय ६९ मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको तथ्यांकले देखाएको छ।

कमेन्ट लोड गर्नुस