सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना सुरु

२०८० मंसिर २९, १०:२४ खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा सशक्त महिला, समृद्ध नेपाल परियोजना सुरु भएको छ। प्रदेशका १० वटा स्थानीय तहहरूमा परियोजनाले काम गर्ने भएको हो।

परियोजनाले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कञ्चनपुरको बेलौरी नगरपालिका, डोटीको दीपायल–सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, बाजुराको बडिमालिका नगरपालिका, बझाङको मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र दुर्गाथली गाउँपालिकामा काम गर्ने छ। नेपाल सरकारको सहकार्यमा युरोपेली संघ र संयुक्त राष्ट्र संघका चार एजेन्सी आइएलओ, युएनएफपीए, युनिसेफ र युएन ओमनको साझेदारीमा प्रदेशका १० स्थानीय तहमा परियोजना लागु गरिएको हो।

धनगढीमा आयोजना गरिएको प्रादेशिक शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले परियोजना लागु भएको घोषणा गरेका थिए।

सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा सञ्चालन हुने परियोजना अन्तर्गत सामाजिक मूल्य, मान्यता र लैंगितामा आधारित हिंसा रोकथाम, महिलाको आर्थिक सशक्तीकरण, महिला नेतृत्व,प्रतिनिधित्व, लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अध्यक्षतामा परियोजना सञ्चालन समिति गठन गरिएको छ। उक्त समितिको सहअध्यक्ष ईयु, युएनआरसीओ रहेका छन् भने प्रदेश स्थित सामाजिक विकास मन्त्रालय, संयुक्त राष्ट्र संघका चार वटै निकाय, राष्ट्रिय योजना आयोग लगायतका निकाय सदस्य रहेका छन्।

परियोजना शुभारम्भ कार्यक्रमका सहभागीहरूले महिला सशक्तीकरणका लागि जीविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

 

कमेन्ट लोड गर्नुस