सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीन र क्षेत्रीय शक्तिसँग सन्तुलित सम्बन्ध राख्न विज्ञहरूको सुझाव

२०८० मंसिर २८, ०५:४० खबर संवाददाता

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले छिमेकी चीन तथा अन्य क्षेत्रीय शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने बताएका छन्। 

सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडरालिज्मले मंगलबार गरेको नीति संवाद शृंखलालाई सम्बोधन गर्दै यादवले निर्भयतापूर्वक नेपालले कुराकानी गर्ने नीति अंगाल्नुपर्नेमा जोड दिएका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो चीन भ्रमणका उपलब्धिका विषयमा सांसद र विज्ञहरूसहितको अन्तर्क्रिरयामा यादवले नेपालको आर्थिक हितका लागि सबैसँग सन्तुलनकारी सम्बन्धमा जोड दिए। कांग्रेस नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको संयुक्त वक्तव्यको भाषामा चासो व्यक्त गरे। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लिएको ऋणलाई लक्षित गर्दै नेपाललाई अनुदान आवश्यक रहेकोमा जोड दिए। उनले नेपाल र चीनबीच अहिले रेलभन्दा राजमार्गको स्तरोन्नति गर्नुपर्ने सुझाव दिए।

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले प्रधानमन्त्रीको चीन भ्रमणका वेला केरुङ–रसुवागढी विद्युत् प्रसारणलाइनबाहेक अन्य खास सम्झौता नभएको टिप्पणी गरे। तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालादेखि हालसम्म नेपाल र चीनबीच ७० वटा सम्झौता भएको, तर अत्यन्तै कम मात्रै कार्यान्वयन भएको भन्दै आचार्यले चिन्ता व्यक्त गरे। संयुक्त वक्तव्यमा ताइवानको स्वतन्त्रताविरुद्धमा प्रयुक्त भएको भाषाप्रति आचार्यले चासो व्यक्त गरे। 

सांसद छिरिङ ल्हामु लामाले नेपाल र चीनबीच सीमानाका सञ्चालन हुनुपर्ने बताए। कर्णालीमा मात्रै दुई देशबीच पाँचवटा सीमानाका रहेको र जसको सहज सञ्चालनबाट कर्णालीको अर्थतन्त्रमा लाभ हासिल गर्न सकिने बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालबाट कैलाश मानसरोवरसम्म जाने सडक निर्माणमा भएको सहमतिप्रति खुसी व्यक्त गरे।

सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्डको भ्रमणको उद्देश्य नै स्पष्ट नभएको टिप्पणी गरे। प्रधानमन्त्रीको भ्रमणबाट दुई देशको सम्बन्धका बिआरआईजस्तो आयाममा कुनै प्रगति हुन नसकेको उनको भनाइ थियो। 

पूर्वराजदूत विजयकान्त कर्णले प्रधानमन्त्रीको भ्रमण महत्वपूर्ण भएको, तर सफल हुन नसकेको टिप्पणी गरे। ‘नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी आकर्षित गर्न भ्रमणले सकेन,’ कर्णले भने। 

कमेन्ट लोड गर्नुस