खजुरीको नेपालको ‘पफ’ मा ट्रान्स फ्याट बढी भेटिदा खाद्य विभागले बजारबाट फिर्ता लिन निर्देशन
काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालि’ले उत्पादन गरेको ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ।
बजार अनुगमन क्रममा संकलित पफका नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’को मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भेटिएको विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुनुहुँदैन। तर परीक्षणमा उक्त उत्पादनमा २ प्रतिशतभन्दा बढी ट्रान्स फ्याट भएको पुष्टि भएपछि विभागले यसलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गरेको छ।
विभागले ललितपुर गोदावरी–१० स्थित उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र बी १ फाइभ ए का पफहरू बजारबाट तत्काल फिर्ता ल्याउन, थप बिक्री वितरण नगर्न र नगराउन निर्देशन जारी गरेको छ। यो आदेश खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) र (४) को प्रावधानअनुसार जारी गरिएको छ।