सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा रास्वपाको अभियान सुरु

२०८० मंसिर २७, ०९:२१ खबर संवाददाता

धनगढीः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिममा ‘घण्टीमित्र’ अभियान सुरु गरेको छ। कैलालीको अत्तरियामा बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले अभियान सुरु गरिएको घोषणा गरेको हो। रास्वपा प्रति आस्थावान व्यक्तिलाई पार्टीमा जोड्नका लागि ‘घण्टीमित्र’ अभियान सुरु गरिएको रास्वपाका प्रदेश प्रवक्ता सन्तोष जोशीले बताए। उनले पार्टीको सदस्यता नलिएका तथा लिन नसक्ने व्यक्ति यस अभियानमा जोडिने बताए।

अभियानमा जोडिनका लागि प्रदेश समितिले कार्यविधि बनाएर १ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ। यस्ता ‘घण्टीमित्र’ सदस्यहरू पार्टीका गतिविधि, बहस, छलफलमा सहभागि हुन  पाउने भएपनि पार्टीको अधिवेशनमा उम्मेदवार र भोटर भने बन्न नपाउने प्रवक्ता जोशीले बताए। उनले पार्टी सदस्यता शुल्क तिर्न नसकेर पार्टीमा जोडिनबाट बञ्चित भएकाहरू पनि यो अभियानमार्फत जोडिन सक्ने बताए।

‘हामीले पार्टी सदस्यता ५ वर्षको लागि १ हजार राखेका थियौ। त्यो एकमुष्ट तिरेपछि ५ वर्षसम्म रिन्यू नगर्नुपर्ने प्रोसेस थियो। तर, एकैचोटी हजार रुपैयाँ तिनुपर्दा धेरै भयो भन्ने कुरा आयो। जसले गर्दा पार्टीप्रति आस्थावान भएका व्यक्तिहरू पनि सदस्यता कार्ड लिनबाट बन्चित भए’ उनले भने ‘यस्ता व्यक्तिलाई सम्बोधन हुने गरी हामीले ‘घण्टीमित्र’ अभियान सुरु गरेका हौ।
‘घण्टीमित्र’ अभियानमा जोडिएकाहरुलाई पार्टीको कार्ड दिइने र संकलन भएको रकम प्रदेश खातामा जम्मा गरेर पछि ७० प्रतिशत पालिकामा फिर्ता गरिने जनाइएको छ। ३० प्रतिशत रकम भने प्रदेशमा रहने पार्टीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस