सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा रेबिजको संक्रमण फैलिँदै, ४८ पशुमा संक्रमण फेला

२०८० मंसिर २६, ०६:४५ नारायण अवस्थी

धनगढीः मङ्गलवार एकै दिन कैलाली र कञ्चनपुरमा तीन वटा चौपाया रेबिज पुष्टि भएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा मरेको स्यालमा, धनगढी उपमहानगरपालिका वडा नम्बर १ को छाडा कुकुर र जानकी गाउँपालिका वडा नम्बर ७ मा गाईको बाच्छोमा रेबिज संक्रमण पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए।  

‘कैलाली र कञ्चनपुरमा गत वर्ष ३९ चौपायामा रेबिज संक्रमण भएकोमा चालु आर्थिक वर्षको पाँच महिना नपुग्दै ४८ चौपायामा रेबिज पुष्टि भएको छ’, उनले भने, ‘घरपालुवा चौपायादेखि जङ्गली स्याल र बङ्गुरमा समेत रेबिज संक्रमण पुष्टि भएको छ।’ यो वर्ष कैलाली र कञ्चनपुरमा साउनयता ४८ पशु चौपायामा रेबिज पुष्टि भएको छ।

स्याल, कुकुर, बिरालो, गाई, भैंसी र बङ्गुरमा रेबिज देखिएको छ। सुदूरपश्चिमका पहाडी जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा रेबिज संक्रमण गत वर्ष पनि बढी थियो भने यो वर्ष पनि रेबिज भएर पशु चौपाया मरिरहेका छन्। रेबिज भएको थाहा हुनासाथ परीक्षण गर्न थालिएकाले संक्रमण पुष्टि हुन थालेको वरिष्ठ पशु चिकित्सक एवं  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रमुख जोशीले बताए।

कैलाली र कञ्चनपुरमा रेबिज संक्रमण भएको थाहा हुने बित्तिकै पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट परीक्षणका लागि पशुचिकित्सक र प्राविधिकको टोली सम्बन्धित ठाउँमा पुगेर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। सार्वजनिक बिदाको दिन पनि नमुना संकलन गरेर परीक्षण गर्ने व्यवस्था मिलाइएको डाक्टर जोशीले बताए।

‘पशु चौपायामा रेबिजको जस्तो लक्षण देखिएमा परीक्षण गर्न सर्वसाधारणले फोन गरेर पनि बोलाउने पनि गरेका छन्। खबर पाउनासाथ हाम्रो टोलीले सम्बन्धित ठाउँमा पुगेर नमुन संकलन गर्ने र परीक्षण गर्छ। बिदाको दिन समेत २४ सैं घण्टा रेबिज परीक्षणको व्यवस्था मिलाइएको छ। परीक्षणको दायरा बढेकाले पनि संक्रमण पुष्टि हुने दर बढेको हो’, डाक्टर जोशीले भने।

पशुहरूमा रेबिज संक्रमण भएको लक्षण देखिना साथ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी, जिल्ला स्थित भेटेरीनरी अस्पताल र स्थानीय तहको पशु शाखा तथा पशु प्राविधिकलाई खबर गर्न डाक्टर जोशीले आग्रह गरेका छन्। उनले यो वर्ष पशु चौपायाहरूमा रेबिज संक्रमण रोक्न पशु सेवा विभागबाट सुदूरपश्चिममा १५ हजार डोज खोप आएको बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस