सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ३२० सवारी दुर्घटनामा परेर १७७ जनाको मृत्यु

२०८० मंसिर २६, ०४:१० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा गत वर्ष सवारी दुर्घटनामा परेर एक सय ७७ जनाले अकालमै ज्यान गुमाएका छन्।

सवारी व्यवस्थापनमा सरकारको नियमन प्रभावकारी नहुँदा सवारी दुर्घटनामासमेत नागरिकले जीवन गुमाउनु परिरहेको हो। कमजोर र गुणस्तरहिन सडक, मापदण्ड विपरीत सडक बन्नु, चालकको लापवाही, ट्राफिक नियमको अवज्ञा, पूराना सवारी साधनको प्रयोग, भारबहन क्षमताभन्दा बढी यात्रु बोक्ने क्रम रोकिएको छैन्। 

यस्ता घटनाको न्यूनिकरणका लागि सरकारी सक्रियता अपेक्षाकृत हुन नसकेको राष्ट्रिय मानवअधिकार आयोगले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको तथ्यांक अनुसार गत वर्ष मात्र सुदुरपश्चिम प्रदेशमा ३२० वटा सवारी दुर्घटना भएका छन्।

ती दुर्घटनामा परेर १७७ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिममा गत वर्ष सवारी दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको हो। आर्थिक वर्ष २०७८/७९ मा एक सय ९६ जनाको मृत्यु भएको थियो।

सुदूरपश्चिममा गत वर्ष सवारी दुर्घटनामा परेर एक सय ४४ पुरुष, २२ महिला, ६ बालक र पाँच बालिकाको मृत्यु भएको व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ। २०७८/७९ मा एक सय ५३ पुरुष, २७ महिला, १२ बालक र चार बालिकाको सवारी दुर्घटनामा परेर मृत्यु भएको समेत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको हो।

कमेन्ट लोड गर्नुस