सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ओमप्रकाश हत्या प्रकरणः कहिले सुल्झिएला हत्यारासम्म पुग्ने बाटो?

२०८० मंसिर २५, ०५:२१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा ओमप्रकाश पन्तको हत्या भएको आज (सोमबार) ११ वर्ष पुगेको छ।

हत्या भएको लामो समय भइसक्दा पनि घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न भने सकेको छैन। २०६९ साल मंसिर २५ गते राति धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी घना बस्ती भएकै स्थानमा घाँटी रेटेको अवस्थामा पन्त मृत फेला परेका थिए। बस्तीको बिचमा छोराको  निर्मम हत्या गरिएको ११ वर्ष हुँदा समेत हत्यारा पत्ता नलाग्दा थप पीडा भोग्नुपरेको मृतक ओमप्रकाशका बुवा श्रीकृष्ण पन्तले बताएका छन्।

उनले ११ वर्षसम्म छोराको हत्यारा पत्ता नलाग्दा सिङ्गो परिवार जिउँदो लास जस्तै बनेर पीडा सहनु परेको गुनासो पोखेका हुन्। मृतका बुवा श्रीकृष्ण पन्तले हत्यारा पत्ता लगाउन बारम्बार सुरक्षा निकाय समक्ष आग्रह गर्दा पनि अनुसन्धान नगरी घटनालाई सामसुम पार्न खोजिएको गुनासो छ।

२०६९ मंसिर २५ गते रातिको समयमा घटना घट्नु अगाडि मृतक ओमप्रकाश पन्तले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुम नम्बर १०० मा फोन गरी आफ्नो जीवन रक्षाका लागि आग्रह गरेको भए पनि प्रहरीले कुनै वास्ता नगरेकाले छोराको हत्या गरिएको श्रीकृष्ण पन्तले बताएका छन्।

सोही दिन परिवारका अन्य सदस्यले पनि प्रहरीलाई ३/४ पटक सुरक्षाका लागि आग्रह गर्दा पनि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट सुरक्षाको पहल गर्नुको सट्टा जिस्क्याउने काम भएको मृतक ओमप्रकाशका बुवा श्रीकृष्ण पन्तले बताउँदै आएका छन्। घटना घटेको दिन बारम्बार अनुरोध गर्दा पनि प्रहरीले सहयोग नगरेको र घटनापश्चात् तत्कालीन जिल्लाको प्रहरी नेतृत्वले लापरबाही गरेको ठहर पन्त परिवारको छ। घटना पश्चात् पनि गहन तरिकाले हत्यारा पत्ता लगाउने मनसायका साथ प्रहरी अनुसन्धान नहुँदा छोराको हत्या भएको घटनाको अनुसन्धान निष्कर्षविहीन भई हाल रहस्यमय भएको ठहर पन्त परिवारको छ।

मृतकका बुवा पन्तले प्रहरीकै लापरबाहीले घटेको घटनाको प्रारम्भिक अनुसन्धान अत्यन्त फितलो बनाई घटना सामसुम पार्ने प्रयत्न भएको गुनासो गरेका छन्। उनले प्रारम्भिक अनुसन्धान अपराधी पत्ता लगाउने दिशातिर केन्द्रित नहुँदा हत्यामा प्रयुक्त सबै खाले दसी प्रमाणहरूको आँकलन नगरी प्रमाणहीन बयानको बृहत् दस्तावेज मात्र प्रहरीले तयार गर्दा त्यसपछिका अनुसन्धानहरू पनि प्रभावित भएको बताए।
यी हुन् हत्या पुष्टि हुने आधारहरू
धनगढी–४ उत्तरबेहडीको एनसेल टावर नजिक चारैतिर घरटहरा भएको ठाउँमा ओमप्रकाश पन्त मृत फेला परेका थिए। मृतका बुवा श्रीकृष्ण पन्तका अनुसार पुरानो शौचालयको करिब ७/८ फिट अग्लो टिनको ढोकाको टुप्पोमा हत्याराहरूले रक्ताम्य हातमा लगाउने पञ्जा निचोरी हत्यालाई घटनाको रुप दिने प्रयास गरेका थिए।

उनीहरूले हातमा लगाउने पञ्जा निचोरेर टिनमा रगत लगाएर त्यहीँ फालेर नल्कामा हात धोएको घटनास्थलमा स्पष्ट देखिएको भए पनि अनुसन्धानलाई अर्कै मोडतिर लैजाने प्रयत्न गरिएको दाबी गरेका छन्। मृतक ओमप्रकाश घाटीमा फलामे डण्डा (रड) घोचिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलमा हातमा लगाउने पञ्जा, विभिन्न साइजका जुत्ता चप्पलका पदचाप, फिङ्गर प्रिन्ट, तथा घर वरिपरि छर्किएका रगतका थोपाहरूको संकलन र परीक्षण नगरिएको श्रीकृष्ण पन्तले जिकिर गरेका छन्।

ओमप्रकाशको शव फेला परेको स्थानमा लछारपछार भएको कुनै चिन्ह नभेटिएको, करेसाबारीको कुनै बिरुवा र घाँसपात नकुल्चिएको, हत्याराले घाँटी रेटेर मृत शरीर त्यहीँ थपक्क राखेर टिनको ढोकालाई रक्ताम्य पारी नल्कामा हात धोएको दृश्य देखाएर घटनालाई अर्कै रुप दिन खोजिएको श्रीकृष्ण पन्तको आरोप छ।
के थियो पोष्टमार्टम रिपोर्टमा?
ओमप्रकाश पन्तको पोष्टमार्टम रिपोर्टमा ‘धारिलो हतियारले श्वासनली काटेर हत्या गरिएको’ कुरा उल्लेख छ तर, प्रहरी अनुसन्धान पोष्टमार्टम रिपोर्टले देखाएको तथ्यतर्फ उन्मुख नहुँदा अपराधी अहिलेसम्म कानुनको घेराभन्दा बाहिर रहेको श्रीकृष्ण पन्तको गुनासो छ।

घटना घटेको राति करिब १/२ बजेतिर २ वटा मोटरसाइकल विस्तारै आएर मृतक ओमप्रकाश पन्तको शव भेटिएको ठाउँसम्म पुगेको, उक्त समयावधिमा कालो वर्णका युवाहरू घटनास्थलमा आवतजावत गरेको कुरा जाहेरी गर्दा पनि जाहेरी अनुसार अनुसन्धान हुन नसकेको श्रीकृष्ण पन्तले बताए। घटना घटेको ११ वर्ष हुँदा पनि न्याय नपाएकाले मृतकका बुवाले सिङ्गो परिवार विक्षिप्त अवस्थाबाट गुज्रिरहेको बताए। प्रहरीले किटानी जाहेरी दिँदा पनि ती व्यक्ति उपर कडाइका साथ अनुसन्धान नगरेको गुनासो श्रीकृष्ण पन्तको छ।
‘प्रहरीले सूक्ष्म अनुसन्धान गरेन’
मृतक ओमप्रकाश पन्तका बुवा श्रीकृष्ण पन्तले छिमेकी राजेन्द्र पन्त (राजु) र उनकी आमा भागरथी पन्तले छोरालाई मार्ने धम्की दिँदै आएकामा आफू घरमा नभएको मौका छोपेर निज राजेन्द्र पन्तले नै आफ्नो छोराको हत्या गरेको प्रवल सम्भावनाका आधारहरू रहेकाले निजलाई निगरानीमा राखी सूक्ष्म अनुसन्धान नभएको, घटना घटेको राति करिब १० बजे तर्कराज पन्तले फोन गरेर बोलाउँदा मृतक ओमप्रकाश त्रसित भई घर बाहिर निस्केको भए पनि यो कुरामा अनुसन्धान नगरिएको श्रीकृष्ण पन्तको भनाइ छ।

ओमप्रकाश पन्तको हत्या अफ्नो श्रीमान हरिप्रसाद चौधरीले गरेको भन्ने निज हरिप्रसाद चौधरीकी श्रीमती रेनुका चौधरीले लेखेको चिठी तत्कालीन प्रहरी प्रमुख समक्ष पेश गर्दा हरिप्रसाद चौधरी, निजको साथी पदम थापामाथि सूक्ष्म अनुसन्धान नगरिएको गुनासो पन्तले गरेका छन्। प्रहरीले घटनास्थल नजिकै घर भएका व्यक्ति र ओमप्रकाश मृत भेटिएको स्थान नजिकैको घरटहरमा बस्ने कुनै पनि व्यक्तिको बयान नलिएको, भागेर गएका व्यक्तिको खोजी गरेर बयान लिनुपर्नेमा त्यसो नगरिएकाले हत्यारा सजिलै उम्किएको पन्तको ठहर छ

कमेन्ट लोड गर्नुस