कञ्चनपुरमा चोरी गरेको आरोपमा तीन जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको बेलौरी नगरपालिका–९ स्थित शिद्धनाथ आधारभूत स्वास्थ्य केन्द्रबाट नल्का र मोटर चोरी गरेको आंशकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। स्वास्थ्य केन्द्रमा बिहीबार राति चोरी भएकामा शुक्रबार स्वास्थ्य केन्द्रमा कर्मचारी आएपछि थाहा भएको हो। बेलौरी–९ वडा कार्यालयको परिसरमा रहेको स्वास्थ्य केन्द्रमा चोरी भएको थियो।
मोटर चोरी भएकै दिन सोही वडाको सिद्धनाथ मन्दिर नजिकै रहेको लोकेन्द्र साउदको राइस मिलबाट पनि एक लाखभन्दा बढी रकम चोरी भएको प्रहरीले जनाएको छ। मोटर र नगद चोरी गरेको आंशकामा तीन जनालाई पक्राउ गरी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण कुँवरले बताए।