सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरी-५ मा लागुऔषध विरुद्ध जनचेतना र्‍याली सम्पन्न

२०८० मंसिर २२, ०२:४४ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगर पालिका वडा नम्बर ५ मा लागू औषध विरुद्धको जनचेतना र्‍याली सम्पन्न भएको छ।  ५ नम्बर वडा कार्यालयको आयोजना र गेटा प्रहरी चौकीको संयोजन तथा गेटा युवा क्लब, नागरिक समाज र स्थानीय पाँच विद्यालयको सहभागितामा कार्यक्रम गरिएको हो।

शुक्रवार आयोजना गरिएको जनचेतना र्‍यालीमा सरस्वती माध्यमिक विद्यालय, सिद्धबाबा माध्यमिक विद्यालय, नवज्योति स्कुल, ब्राइट स्टार स्कुल, विद्या भूषण स्कुल र गेटा युवा क्लबको सहभागिता रहेको थियो। स्थानीय पाँच विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको र्‍यालीमा लागुऔषध विरुद्धका प्लेकार्ड बोकेर जनचेतना जगाउने नारा लगाउँदै विद्यार्थीहरूले वडा नम्बर ५ का विभिन्न टोल परिक्रमा गरेका थिए।

र्‍याली पश्चात्  इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रविन्द्र कठायतले विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनबाट हुने हानी नोक्सानीको विषयमा जानकारी गराएका थिए। प्रहरी निरीक्षक कठायतले लागुऔषधको दुर्व्यसनबाट बच्न र अरुलाई पनि बचाउन युवाहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। उनले किशोरावस्थामा दुर्व्यसनमा फस्न सक्ने जोखिम बढी हुने भएकाले सजग हुन विद्यार्थीहरूलाई आग्रह गर्दै लागुऔषधबाट बच्ने उपाय र दुर्व्यसनी, ओसारपसार र बिक्री वितरणमा संलग्नलाई हुने कानुनी सजायबारे बताएका थिए।

कार्यक्रममा प्रहरी निरीक्षक कठायतले विद्यार्थीले राखेका जिज्ञासाको जबाफ समेत दिएका थिए। गोदावरीको गेटा क्षेत्रमा लागुऔषध दुर्व्यसनमा फसेका युवाहरू पक्राउ पर्ने क्रम बढेपछि दुर्व्यसनमा थप युवा नफसुन भनेर प्रहरी चौकि गेटा र वडा कार्यालयसँग मिलेर जनचेतना कार्यक्रम राखिएको स्थानीय युवा लोकेन्द्र धामीले बताए। उनले सबैको सहकार्यमा युवाहरूलाई कुलतमा फस्न नदिन लागुऔषध विरुद्ध जनचेतना फैलाउने जमर्को गरिएको र यो कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए।

लागुऔषध सेवनमा युवाहरू फस्ने क्रम बढेर कयौं घर परिवारको बिचल्ली हुने अवस्था आएकाले स्कुले बालबालिकाको माध्यमबाट समुदायमा जनचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको स्थानीय भानदेव पनेरूले बताए। उनले स्थानीय विद्यालयका विद्यार्थीको सहभागिताले लागुऔषध विरुद्धको अभियान प्रभावकारी हुने र स्थानीय युवाहरू पनि नेपाल प्रहरीसँग सहकार्य गरेर लागुऔषध सेवन, ओसारपसार र बिक्री वितरण विरुद्ध लाग्न प्रेरणा मिल्ने बताए।
 

कमेन्ट लोड गर्नुस