मलाई माफ गर आमा !
आज मातातीर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन । सम्भवः आजको एक महिनाअघि अर्थात चैत्र २२ गते अन्तिम पटक तिम्रो अनुहार हेरेकी थिए । अस्पतालको शैय्या (भेन्टीलेटर) मा तिमी १५ दिनदेखि मृत्युसँग सामाना गरिरहेकी थियौ । तिमीलाई हेर्न आइसीयूभित्र छिर्दा मुटु भक्कानिएर आउथ्यो । मलाई सम्झना छ, तिमीले चैत्र १८ गते मेरै आँखा अगाडी आफ्नो प्राण त्याग गरेकी हौ । तर, डाक्टरलाई सोध्दा तिमीलाई गाह्रो भएको भन्दै पैसाका लागि जीवित बनाइरहे । माफ गर आमा, हामीले तिमीलाई बचाउन सकेनौ, न त सजिलोसँग मर्न दिन सक्यौ ।
मलाई थाहा छ, तिमी मरेकी होइनौ, तिमीलाई डाक्टरहरुले नै मारेका हुन् । मात्र आफ्नो गल्ती लुकाउनका लागि कहिले तिमीमा अनेकन समस्याहरु देखाइरहे, त कहिले सुधार भइरहेको अभिनय गरे ।
मलाई त लाग्थ्यो डाक्टर भनेका भगवान हुन । तर, मेरो भ्रम तिम्रो मृत्युले तोडिदिएको छ आमा । ति त यमराज भन्दा पनि अझ क्रुर र निर्दही हुँदा रहेछन् । मैले मेरा साथीहरु (अर्को अस्पतालका डाक्टर)लाई तिम्रो अवस्था बुझ्न त्यहाँ (अन्नपूर्ण न्यूरो अस्पताल) नपठाएको भए शायद तिम्रो शरिर आज पनि त्यहि शैय्यामा कृत्रिम श्वासको भरमा मुढो झै लडिरहेको हुन्थ्यो होला । तर, मैले तिम्रो त्यो विजोग हेर्न सकिन । मेरा लागि तिमी आमा मात्रै होइन, एउटा असल साथी पनि थियौं । तर, तिम्रा लागि भने सबैभन्दा कठोर सन्तान बने म । उसो त, चैत्र २२ गते तिमीलाई हेरेर घर फर्किदा तिमी यो संसारमा छैनौ भन्ने प्राय निश्चित थियो । तर, चेतना केहि बाँकी रहेकाले तिम्रो छातीमा चिमोट्दा बायाँ हात थोरै चल्यो । त्यसैलाई देखाएर अस्पतालले तिमी जीवित भएको प्रमाण पेश गर्योे ।
यो क्रम २४ गते बिहानसम्म चलिरह्यो । जब, दिउँसो साथीहरुले डाक्टरलाई भेटेर तिम्रो अवस्था बुझ्दै रिपोर्ट मागे । अस्पतालले तिम्रो रिपोर्ट मात्रै लुकाएन आमा, तिमीलाई भेट्न जान आफन्तहरुलाई समेत प्रतिबन्ध लगायो । त्यसपछि २५ गते बिहान एकाएक तिमीलाई गाह्रो भएको भन्दै कुरुवा (दाई)लाई घरसल्लाह गर्न भनियो । मध्यान्ह साढे १२ बजे तिम्रो ब्रेनले काम गर्न छोडेको भन्दै मृत घोषणा गरियो । तिम्रो मृत्युको औपचारिक घोषणापछि बुवासहित हामी काठमाण्डौ हिड्यौ । उपचारका लागि दुई महिनादेखि तिमी घर बाहिर रहेकाले बुवाले अन्तिम पटक मुख देख्न पाउनुहुन्छ कि भन्ने आशा रहेछ दाईहरुको । त्यसैले तिमीलाई भेन्टीलेटरबाट झिक्ने कुरा गरेनन् । न त डाक्टरहरुले नै केहि भनेछन् ।
जब २६ गते बिहान हामी अस्पताल पुग्यौ, डाक्टरहरुले बिहान साढे ५ बजेबाट तिम्रो धड्कनले समेत काम गर्न छोडेको भन्दै पुनः दोस्रो पटक तिमीलाई मृत घोषण गर्दै मृत्यु प्रमाणपत्र (डेथ सर्टिफिकेट) दियो । तिमीलाई निको बनाएर चाडै घर फर्काउने आशामा अस्पताल लगेका थियौ आमा, तर नियतिले तिमीलाई पटक पटक मारिरह्यो । तिमी बोल्न सकिनौ, मैले तिम्रोअवस्था बुझेर पनि सजिलै मर्न दिन सकिन ।
मलाई माफ गर आमा !!!
आज आमाको मुख हेर्ने दिन, सोही दिनको सम्झनामा दुर्गा उपाध्यायको फेसवुक पोष्ट