सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा चार हजार बढी महिला आफ्नै घरपरिवारबाट पीडित

२०८० मंसिर २०, ११:४० कमल सावद

धनगढीः सुदूरपश्चिममा ठुलो संख्यामा महिलाहरु पीडित बन्न पुगेको पाइएको छ। प्रायः महिलाहरु आफ्नै घरपरिवारका सदस्यबाट पीडित बन्न पुगेको तथ्यांकले देखाएको छ। प्रदेशभित्र घरेलु हिंसाका घटना एकपछि अर्को बढ्दै गएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको हो।

प्रदेश प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिममा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म चार सय ६८ घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। प्रहरीमा दर्ता भएका निवेदनमध्ये ३८८ मुद्दाको मिलापत्र गरिएको छ। २३ वटा निवेदन भने अन्य निकायहरूमा पठाइएको छ। प्रहरीमा दर्ता भएका ५७ वटा निवेदनको भने कार्यान्वयन भएको छैन। 

सुदूरपश्चिममा चार आर्थिक वर्षको अवधिमा चार हजार १७ वटा घरेलु हिंसाका उजुरी दर्ता प्रहरीमा भएका छन्। आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षको कात्तिकसम्म चार हजार १७ घरेलु हिंसाका उजुरी प्रहरीमा दर्ता भएको पाइएको हो। आर्थिक वर्ष २०७७/७८ मा एक हजार १० घरेलु हिंसाका निवेदन प्रहरीमा दर्ता भएका छन्। तीमध्ये ९७९ घटनाको मिलापत्र गरिएको छ। १४ निवेदन प्रहरीले अन्य निकायहरूमा पठाएको छ। सो अवधिमा पाँचवटा मुद्दा मात्र दर्ता गरिएको छ।

१२ वटा निवेदनमाथि भने कुनै सुनुवाई भएको छैन्। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा एक हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता देखिएको छ। सो अवधिमा एक हजार दुई सय ४२ निवेदन मिलापत्र गरिएको छ। ५१ उजुरीमाथि कुनै सुनुवाई भएको छैन भने ३७ वटा निवेदन प्रहरीले अन्य निकायहरूमा पठाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ९ घरेलु हिंसाका निवेदन दर्ता भएका छन्।

प्रहरीले सो अवधिमा एउटा मुद्दा मात्र दर्ता देखिएको छ। बाँकी एक हजार ७७ निवेदन मिलापत्र गरिएको छ। ८२ निवेदन कार्यान्वयन भएका छैनन् भने ४५ निवेदन अन्य निकायमा पठाइएको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म थप चार सय ६८ निवेदन प्रहरीमा दर्ता भएका छन्। चार महिनाको अवधिमा ३८८ निवेदनको मिलापत्र गरिएको छ। प्रदेश प्रहरीका अनुसार २३ वटा निवेदन अन्य निकायमा पठाइएको छ।

५७ वटा निवेदनको कार्यान्वयन भएको छैन। प्रहरीमा दर्ता भएका निवेदनहरूमध्ये अधिकांश निवेदन स्थानीय तहहरूको न्यायिक समितिहरूमा समेत पठाउने गरिएको छ। राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ/संस्थाहरूको सहयोगमा प्रायः यस्ता घटनाको मिलापत्र गर्ने काम हुँदै आएको छ। घरेलु हिंसाका निवेदनहरू सबैभन्दा बढी कैलालीमा दर्ता हुने गरेका छन्। डोटीमा भने यस्ता घटना सबैभन्दा कम दर्ता हुने गरेको पाइएको छ।

कैलालीमा २०५ निवेदन चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म दर्ता भएका छन भने डोटीमा तीनवटा निवेदन मात्र दर्ता भएको देखिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले घरमा खाना नदिएको, वैदेशिक रोजगारी, विवाह दर्ता नगरेको छोरा–छोरीको जन्म दर्ता नगरेको लगायतका निवेदन प्रहरीमा दर्ता हुने गरेका छन।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस