सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका प्रकाशित

२०८० मंसिर १७, ०४:३७ खबर संवाददाता

धनगढीः निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका प्रकाशित गरेको छ। आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएसँगै तालिका सार्वजनिक गरिएको हो।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आगामी पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ। प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरु सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछन् र, सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ। मतदाता नामावली आयोगको वेबसाईट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन तालिकामा पुस २३ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। मनोनयन दर्ता पश्चात् उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुनेछ। मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ। उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भए पश्चात् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन ४ बजे सम्पन्न हुनेछ।

निर्वाचन आयोगले उम्मेदवारलाई पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ। मतदान कार्य भने माघ ११ गते बिहान ९ बजेदेखि ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ। मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने निर्वाचन आयोगले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस