च्याउ उत्पादनमा जमे धनगढीका बेनर्जी दम्पती, बजार नपाउँदा भने निराश
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१४ डिपोबजारमा अशोक बेनर्जी र टिका बोहरा दम्पतीले २ हजार ३ सय व्यागमा गोब्रे च्याउ खेती गरेका छन्। हुलाकी सडक छेउमै जग्गा भाडामा लिएर सुलभ बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउ खेती सुरु गरेका बेनर्जी पेशाले स्वास्थ्यकर्मी पनि हुन्।
धनगढीमा गोब्रे च्याउको बजार देखेर यो वर्षबाट च्याउ उत्पादनमा लागेका बेनर्जीको टनेलमा दैनिक ४ देखि ६ सय प्याकेट गोब्रे च्याउ उत्पादन भइरहेको छ। च्याउ उत्पादन राम्रो भए पनि बिक्रीमा भने समस्या हुन थालेको बेनर्जीले बताए। ‘धनगढीमा गोब्रे च्याउको बजार राम्रो देखेर यो वर्षबाट च्याउ खेती सुरु गरेको हौँ। उत्पादन राम्रो भए पनि बजार नपाउँदा समस्या होला जस्तो भएको छ’, उनले भने भारतबाट आउने च्याउका कारण हाम्रो उत्पादनले उचित मूल्य नपाउने अवस्था छ।’
बेनर्जीले तयार गरेको टनेलमा हरेक दिन बिक्रीका लागि च्याउ तयार हुन्छ। शनिवार पनि उनको टनेलमा प्याकिङ गरिएको च्याउ थियो। हरेक दिन बिहान ५ बजे धनगढी र अत्तरियाका मण्डीमा च्याउ बिक्री गर्न लैजाँदा मण्डीहरूमा भारतीय च्याउ बिक्री गर्न राखिएको हुन्छ। भारतीय च्याउ स्थानीय च्याउभन्दा केही सस्तो हुन्छ। स्थानीय बजार भारतीय च्याउले कब्जा गर्दा आफ्नो च्याउ बिक्री हुन छोडेको टीका बोहराले बताइन्।
भारतबाट आउने च्याउ दुई तीन दिन पुरानो हुने गर्छ भने बेनर्जीले हरेक दिन ताजा च्याउ बजारमा पठाउँछन्। उनले चार जनालाई रोजगारी पनि दिएका छन्। वडा कार्यालय र आन्तरिक राजस्व कार्यालयमा व्यवसाय दर्ता गरेर च्याउ उत्पादन गरिरहेका बेनर्जीले सुरूमा राम्रो बिक्री भए पनि भारतबाट च्याउ आउन थालेपछि उनको च्याउ बिक्री हुन छोडेको छ। भारतीय किसानको लागत मूल्य कम हुने भएकाले उनीहरूले केही सस्तोमा च्याउ उपलब्ध गराउँदा नेपाली किसानको उत्पादन बिक्री हुँदैन। भारतमा कृषि गर्न सरकारबाट किसानलाई मल, बिउ र अन्य वस्तु खरिदमा अनुदान पाइन्छ जसले गर्दा कृषि उपजको लागत मूल्य कम हुन्छ। नेपालमा भने बिउ लगायत सबै वस्तुको मूल्य बढी हुँदा कृषि उपजको लागत मूल्य केही बढी हुन्छ।
बेनर्जीले अर्को वर्ष थप जग्गा लिजमा लिएर च्याउ उत्पादन बढाउने सोच बनाएका थिए। तर, पहिलो वर्ष नै आफ्नो उत्पादनले बजार पाउन मुस्किल हुन थालेपछि च्याउ खेतीमा यो वर्ष गरिएको करिब ८ लाख लगानी समेत नउठ्ने हो कि भन्ने चिन्ता लाग्न थालेको बेनर्जीले बताए। ‘भारतीय किसानहरूले बिउ लगायत अन्य सामग्री सस्तोमा पाउँछन्, यता महङ्गो पर्न जान्छ। जसले गर्दा हाम्रो उत्पादनले भारतीय उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैन’, उनले भने, ‘भारतीय च्याउ बजारमा आएपछि हाम्रो उत्पादन बिक्री हुन छोडेको छ।’ गोब्रे च्याउको माग होटेल र रेस्टुरेन्टमा सबैभन्दा बढी हुन्छ। अन्य च्याउभन्दा स्वादिलो र धेरै किसिमका परिकार बनाउन सकिने गोब्रे च्याउको उत्पादन गरेका फूलबारीका बेनर्जी दम्पतीले बजारको सुनिश्चितताका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन्। उनले भारतबाट अवैध रूपमा आउने च्याउका कारण बजारमा आफ्नो च्याउले मूल्य नपाउने अवस्था आएको बनर्जीले बताए।