सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई महिनाअघि दर्ता गरिएको कम्पनीले खरिद गर्‍यो एनसेल

२०८० मंसिर १६, ०९:४५ खबर संवाददाता

काठमाडौँ: दुई महिनाअघि मात्रै एक पाउन्ड स्टर्लिङमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको छ। उक्त कम्पनी नेपाली मूलका सिंगापुरवासी सतीशलाल आचार्यको नाममा गत सेप्टेम्बर २६ मा एक पाउन्डमा स्पेक्ट्रलाइट यूके नामक कम्पनी दर्ता गरी एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको हो।

एनसेलको २० प्रतिशत सेयरको स्थानीय साझेदार सतीशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठ सञ्चालक रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा रहेको छ। आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेले बिक्रीमा रहेको एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको विज्ञप्तिमार्फत जनाएको छ। आजियटाले शुक्रवार साँझ जारी गरेको विज्ञप्तिमा आचार्यसमेतको सो कम्पनीले ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा सेयर खरिद गरेको घोषणा गरिएको छ ।

जबकि यो ८० प्रतिशत सेयर २०७२ सालमा आजियटाले १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यस बेलाको विनियम दरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा टेलिसायोरासँग खरिद गरेको थियो। आठ वर्षअघि भएको उक्त कारोबार रकम अंकको ९६ प्रतिशत कम मूल्यमा अविश्वसनीय ढंगले ८० प्रतिशत सेयर खरिदबिक्री भएको छ। अफसोर कारोबार गरी बाँकी ८० प्रतिशत सेयर पनि आचार्य दम्पतीले नै खरिद गरेका हुन्। यसअघि एनसेल ८० प्रतिशत सेयर खरिद/बिक्रीको कारोबार पनि विदेशमै भएको थियो।

ट्याक्स हेभन (कर छलीका लागि अनुकूल मानिने) देशमा दर्ता रहेको रेनोल्ड्स होल्डिङ कम्पनीको स्वामित्व परिवर्तन गरी खरिदबिक्री गर्दै आइएको छ । यस पटक पनि सोही प्रवृत्ति दोहोरिएको छ। मलेसियन कम्पनी आजियटा ग्रुप बर्हादले नेपालमा व्यावसायिक चुनौती बढ्दै गएकाले नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गर्नुपरेको भन्ने व्यहोराको घोषणा बुधबार गरेको थियो ।

दूरसञ्चार क्षेत्रका जानकारहरूले एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजियटा बाहिरिएको अनुमान गरेका छन्। एनसेलको मूल कम्पनी मेरो मोबाइलले १६ भदौ २०६१ मा जीएसएम मोबाइल सेवाका लागि पहिलो पटक अनुमति प्राप्त गरेको थियो । त्यसयता सो कम्पनी नेपालको टेलिकम बजारमा एक मुख्य सेवा प्रदायक रहँदै आएको छ। एनसेलका अहिले पनि झन्डै १ करोड ६३ लाख ग्राहक रहेको कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख छ।

नेपालस्थित एनसेलले पनि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियटा यूके लिमिटेडबीच एनसेलको सेयर खरिदबिक्री कारोबारका लागि सम्झौता भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ। उनले दूरसञ्चार क्षेत्रमा आफ्नो बृहत् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौं ग्राहकलाई परिष्कृत सेवा प्रदान गर्न दाबी गरेका छन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तनदेखि खुसी भएको बताउँदै नयाँ लगानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक कम्पनीका रूपमा अघि बढाउने बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस