सुदूरपश्चिममा चिनजानकै व्यक्तिबाट महिलाहरु असुुरक्षित

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र अधिकांश महिलाहरु चिनजानकै व्यक्तिबाट असुरक्षित हुने गरेको पाइएको छ। महिला तथा बालबालिकाहरु आफन्त र चिनजानका व्यक्तिबाटै बढी सुरक्षित हने गरेको पाइएको हो।
८० प्रतिशत यौनहिंसा चिनजानकै व्यक्तिबाट हुने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। अधिकांश यौन हिंसाका घटना घर, कार्यालय तथा सार्वजनिक स्थलमा हुने गरेका छन्। जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बाल यौन दुरुपयोग तथा दुर्व्यवहार लगायतलाई यौनजन्य हिंसाको रुपमा लिइन्छ।
प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिममा दुई सय ७७ यौन हिंसाका मुद्दा दर्ता भएको अभिलेख छ। सबैभन्दा बढी यस्ता घटना चिनजानकै व्यक्तिबाट हुने गरेको देखिएको छ। कतिपय न्यायिक निकायसम्मै नआउने अवस्थाका कारण पनि यौन हिंसाका पीडित अझ धेरै हुनसक्ने प्रहरीको अनुमान छ।
यौनजन्य हिंसामा पर्नेमा धेरैजसो बालिका छन्। घर, कार्यालय तथा सार्वजनिक स्थलमा समेत महिला तथा बालबालिका यौन हिंसामा पर्ने गरेका छन्। हरेक वर्ष नेपालमा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ भने यसविरुद्ध महिला मन्त्रालय, महिला आयोगजस्ता सरकारी संयन्त्र र दर्जनौं गैरसरकारी संयन्त्र सक्रिय छन्। तर पनि यस्ता हिंसामा कमी आउन सकेको छैन्।
यौन हिंसामा सबैभन्दा धेरै पढेलेखेका व्यक्ति नै संलग्न हुने गरेका छन्। पुरातन सामाजिक संरचनाका कारण यस्ता घटना हुने गरेको अधिकारकर्मी बताउँछन्। मुलुकी अपराध संहिता २०७४ ले महिला तथा बालबालिकाविरुद्ध हुने गरेका यौन हिंसा नियन्त्रणसम्बन्धी प्रावधान समेटेको छ।
दोषीलाई कैद र जरिवानाको व्यवस्था छ। तर, घरभित्रै र परिचित व्यक्तिबाटै हुने गरेका कारण यौनहिंसाका पीडितहरु न्यायिक निकायसम्म खुलेर आउन नसकेको स्थिति छ। यसमा परिवर्तन गर्न र पीडकलाई कानुनी कठघरामा उभ्याउन सचेतना कार्यक्रमलाई समेत प्रभावकारी बनाउनुपर्ने देखिएको छ।



