सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्खाल–पर्खालमा चित्र बनाएर धनगढी चिनाइँदै

२०८० मंसिर १५, ०८:३९ खबर संवाददाता

धनगढी: धनगढीलाई सुन्दर सहर बनाउने लक्ष्यका साथ नगरका सार्वजनिकस्थलका भित्ता (पर्खाल) मा स्थानीय कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यका क्षेत्रसम्बन्धी चित्र उतार्न थालिएको छ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले भित्तामा कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यलगायत चित्र उतारेर धनगढी र खासगरी सुदूरपश्चिमलाई चिनाउने अभियान थालिएको बताए। धनगढी रङ्गशालाको भित्ता (पर्खाल) मा चित्र उतारेर कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्य चिनाउने यो अभियान थालिएको हो। हमालले भने, 'अब धनगढीका भित्ताले सुदूरपश्चिमको कला संस्कृति र पर्यटकीय गन्तव्यका बारेमा आगन्तुकलाई जानकारी गराउनेछन्।' 

चित्र उतारिएका पर्खालमा कुनै पोष्टर, पर्चा नटाँस्न र फोहर नगरिदिन उपमहानगरपालिकाले नगरवासीसँग आग्रह गरेको छ। उपमहानगरपालिकाले धनगढीलाई सुन्दर र हराभरा सहर बनाउनुअघि सारेको ‘हरियाली धनगढी अभियान’ अन्तर्गत यसअघि उपमहानगरका सार्वजनिक सडक तथा स्थानमा वृक्षारोपण गरिएको थियो।

‘उज्यालो धनगढी अभियान’ अन्तर्गत उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त पहलमा नगर क्षेत्रका विभिन्न सडकमा सडक बत्ती जडानको कार्य भइरहेको छ। धनगढी–अत्तरिया ‘छ लेन’ सडकको उपमहानगर क्षेत्रमा पर्ने खण्डको सडकमा स्मार्ट स्ट्रिट लाइट बलिसकेको छ। उपमहानगरपालिकाको अन्य सडकमा पनि स्मार्ट स्ट्रिट लाइट, हाइ माष्ट, मिनी माष्ट लाइट बाल्ने लक्ष्य छ। सडक बत्तीको व्यवस्थासँगै रातिको समयमा धनगढीका मुख्य सहरी क्षेत्र झिलिमिली देखिने गरेको छ।

सडक बत्तीको व्यवस्थाका लागि उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको थियो। हमालकै नेतृत्वको तत्कालीन कैलाली उद्योग वाणिज्य सङ्घले सुदूरपश्चिमका सम्भावना चिनाउन ‘सुन्दर सुदूरपश्चिम अभियान’ चलाएको थियो। यस क्रममा सुदूरपश्चिमका पर्यटकीय र धार्मिक क्षेत्रका आकर्षक तस्बिर अङ्कित आकर्षक पोष्टर प्रकाशन गरी वितरण गरिएको थियो।

कमेन्ट लोड गर्नुस