सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी पुगेर एमाले अध्यक्ष ओलीले भने, ‘प्रतिगामीहरू सल्बलाउन थाले’

२०८० मंसिर १४, ०४:३८ खबर संवाददाता

बैतडीः एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सत्ता गठबन्धनले सही दिशामा लैजान नसक्दा अहिले प्रतिगामीहरू दुलाबाट टाउको निकालेर सल्बलाउन थालेको बताएका छन्।

एमालेले बिहीबारबाट सुरू गरेको झुलाघाट–चिवाभन्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिगामी शक्तिहरुलाई कुनै पनि सल्बलाहट नगर्न चेतावनी दिएका छन्। अध्यक्ष ओलीले राष्ट्रिय एकताका लागि एमालेले काम गरिरहेको तर केहीले त्यो एकतालाई खल्बल्याउने कोसिस गरेको दाबी गरेका छन्।

पहिचानवादी आन्दोलनका नाममा अहिले जनतालाई भड्काउने खोजिएको ओलीले आरोप छ। उनले बलियो राष्ट्रिय शक्तिको निर्माण र देशलाई समृद्धि र सुशासन ल्याउने बाटोमा ल्याउन अहिले बैतडीदेखि पाँचथरसम्मको यात्रा थालिएको बताएका छन्। आफूलाई प्रधानमन्त्रीबाट हटाएपछिको पछिल्लो साढे दुई वर्षमा अर्थतन्त्र धेरै ओरालो लागेको र राजनीतिक अस्थिरता, तस्करी र भ्रष्टाचार मौलाएको दाबी समेत गरेका छन्। 

उनले नेपाललाई गरिबीबाट मुक्त गर्ने, एकताबद्ध पार्ने काम एमालेले गर्ने दाबी गरेका हुन्। एमालेको नेतृत्वमा सरकार रहेका वेला मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेको चर्चा गरेका ओलीले वर्तमान गठबन्धन सरकारले काम गर्न नसक्दा जनतामा निराशा बढेको बताएका छन्। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाहरूलाई अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका नेताले स्वागत गरेका छन्।

कमेन्ट लोड गर्नुस