सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज झुलाघाटबाट एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु

२०८० मंसिर १४, ०७:५४ खबर संवाददाता

बैतडी: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने भएको छ। तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियानको सुरुआत एमालेले आजबाट  गर्दै छ। बिहान ८ः३० बजे झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्ण प्रसाद जैशिले बताए। 

एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राको अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरुआत हुनेछ। पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ। दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष जैशिले बताए। 

अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ। एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ। राष्ट्रिय एकताको आधार निर्माण गर्न अभियान चलाउनु परेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको उनको भनाइ छ। 'निराशाको खेती मौलाइरहेको छ। भइरहेका कामको उजागर गरेर राम्रो सन्देश दिने उद्देश्य छ,' उनले भनेका छन्। 

कमेन्ट लोड गर्नुस