सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीको गोली लागेर घाइते कैलालीका जैसीले पाएनन् क्षतिपूर्ति

२०८० मंसिर ११, ०३:०७ खबर संवाददाता

धनगढीः प्रहरीको गोली लागेर घाइते भएका कैलालीका विरेन्द्र जैसीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकहप्ताभित्रै क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि चार महिना बितिसक्दा समेत नपाएको गुनासो गरेका छन्।

जैसीले यसअघि पनि क्षतीपुर्तिको आश्वासन पाएका थिए। गृह मन्त्रालयले एक लाख ९१ हजार क्षतिपूर्ति दिलाएको थियो। उपचार खर्च नै नपुग्ने गरी क्षतिपूर्ति दिएर सरकारले बेवास्ता गरेको भन्दै थप क्षतिपुर्तिको माग राख्दै गत असार १ देखि काठमाडौंको माइतीघर मण्डलामा अनसन थालेका थिए। असार २५ मा अनसन तोडाउँदै गृहमन्त्री श्रेष्ठले अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका थिए।

२६ वर्षीय जैसीको घर कैलालीको जानकी गाउँपालिका–८ मा पर्छ। सात बर्ष अघि काठ तस्करसँगको झपडमा प्रहरीलाई बचाउने क्रममा प्रहरीबाटै गोली प्रहारले शख्त घाइते भएका थिए। त्यतिखेर सरकारले जैसीको उपचार खर्च व्यहोर्ने आश्वासन दिएको थियो। तर, उचित क्षतिपुर्ति नपाएर र उपचार खर्च व्यहोर्न नसकेर स्वास्थ्य स्थिती पनि कमजोर बन्दै गएपछि गत असारमा अनसन बसेका थिए। अनसनकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि वीर अस्पताल र प्रहरी अस्पताल समेत लगिएको थियो।

कमेन्ट लोड गर्नुस