सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१७ मा कानको मुद्राका लागि १० वर्षीय बालकको हत्या भएको आशंका 

२०८३ असार १३, १०:०० नारायण अवस्थी

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्।  बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरी र राधा चौधरीका १० वर्षीय छोरा तनुज चौधरी हत्या गरेको अवस्थामा शुक्रबार स्थानीय जंगलमा मृत भेटिएका हुन्। 

धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरापलिकाको सीमा क्षेत्रमा रहेको कालिका सामुदायिक वन भित्र फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयकाअनुसार चौधरी प्रहरी र स्थानीयले खोज्न क्रममा जंगलमा मृत भेटिएका हुन्। उनले चढ्दै आएको साइकल र चप्पल भने शव नजिकै फेला परेको प्रहरीले बताएको छ। उनको शव भेटिएको स्थानमा रगत लत्तपतिएका ढुंगा पनि भेटिएका छन्। बालकको शव आधा सडेको अवस्थामा रहेको थियो। 

प्रहरीले बालक मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन।

मृतक चौधरी उर्मा बोर्डिङ स्कुलमा दुई कक्षामा अध्ययन गदर्थे। उनी असार १० गते रोपाइँ गरेर घर फर्किने क्रममा बेपत्ता भएका थिए। गाउँकै चार पाँच जना किशोरहरूसँग गङ्गटा छोप्न गएका तनुज रोपाइँ खेतबाट घर जाने भन्दै साइकल चढेर घरतर्फ आएको बताइएको छ। साँझ मृतक चौधरीका बुवा र आमा कामबाट फर्केर आउँदा तनुजलाई घरमा नदेखेपछि उनको खोजतलास सुरू भएको थियो।

रातभर गाउँ र नजिकैको जङ्गलमा खोज्दा पनि उनी नभेटिएपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो। १२ गते भने बाटो हिँड्दा दुर्गन्ध आएपछि स्थानीयले दुर्गन्घ आएको स्थानमा हेर्दा तनुजको शव फेला परेको स्थानीय पुष्पराज रानाले बताए।

निमराज र राधा चौधरीका एक्ला सन्तान तनुजको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको कैलाली प्रहरीले जनाएको छ। शव झाडीमा लुकाएको अवस्थामा फेला परेको हो भने उनले चढ्ने साइकल पनि घटनास्थाल नजिकै फेला परेको थियो।

घटनास्थलमा करिब १०/१२ स्थानमा भुइँमा रगत देखिएको छ भने घटनास्थलमै रगत लागेको ढुङ्गाहरू फेला परेको मृतकी मामली बज्यै अनिता चौधरीले बताइन्।

मृतककी बज्यै अनिताका अनुसार तनुजको एक कानमा एक आनाको सुनको मुद्री थियो। उक्त मुद्राकै लागि तनुजको हत्या भएको हुनसक्ने उनको आशंका छ। प्रहरीले पनि मृतकको कानमा मुद्रा फेला नपरेको बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले शवको कानमा मुद्रा फेला नपरेको जानकारी गराए। उनले अनुसन्धानका लागि चार जना नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए।

यता परिवारले भने तनुजको हत्या सुनकै लागि भएको हुनसक्ने बताएका छन्। धुर्जन्ना क्षेत्रमा बालबालिकाको कानको मुद्रा चोर्ने घटना बढेको स्थानीयले बताए। लागुऔषध दुर्व्यसनमा फसेका युवाहरूले बालबालिकाको कानको मुद्रामा झिकेर लग्ने घटना यसअघि पनि घटेको बताएका छन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस