सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्तको शालिक तोडफोड गर्ने १८ जना विरुद्ध मुद्दा दर्ता गर्ने तयारी

२०८० मंसिर १०, १०:३०

कञ्चनपुरः कञ्चनपुरमा किसान नेता भीमदत्त पन्तको शालिक तोडफोड गर्ने १८ जना विरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ। किसान नेता भीमदत्तको शालिक तोडफोड पछि फक्राउ परेका हरुलाई निःसर्त छाड्नुपर्ने माग गर्दै राप्रपा कञ्चनपुरले शनिवार महेन्द्रनगर बजार बन्द गराएको थियो।

बन्दका कारण बजार क्षेत्र पूर्ण रूपमा बन्द गरिएको थियो। यातायातका सवारीसाधन भने फाटफुट रूपमा चलेका थिए। तर आज (आइतवार) भने बजार खुला रहेको र शालिक तोडफोडमा संलग्नहरूलाई मुद्‍दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार उनीहरुका विरुद्ध आइतवार मुद्‍दा चलाउने तयारी गरिएको हो। शनिवार बन्द रहेको महेन्द्रनगर बजार आइतवार भने पूर्ण रूपमा खुल्ला रहेको छ। राप्रपाका नेता कार्यकताहरु बजार क्षेत्रमा देखिएका छैनन्।

राप्रपा कञ्चनपुरले शुक्रवार राजतन्त्र र हिन्दु धर्मका पक्षमा महेन्द्रनगरमा ¥याली निकालेको थियो। सोही क्रममा पार्कमा रहेको पन्तको शालिक तोडफोड भएको हो। तोडफोडमा संलग्न १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘हाम्रा नेता कार्यकर्ताका निःसर्त रिहाइको लागि बन्द गरिएको हो, रिहाइ नभए आज (आइतवार) देखि अनिश्चितकालीन सुदूरपश्चिम बन्द गर्छौ,’ राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले भने। तर बिहानैदेखि सवारीसाधन चलेका छन्। शनिवार जस्तो महेन्द्रनगर बजार बन्द नभएको प्रहरीले जनाएको छ। सुरक्षा चुनौती भएका क्षेत्रमा बिहानैदेखि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

 

कमेन्ट लोड गर्नुस