सुदूर नेपाललाई विश्वसँग जोड्दै

१५ औं महाधिवेशनका लागि नेपाली काँग्रेसले ताेक्याे प्रदेश निर्वाचन संयोजकहरू

२०८३ भदौ २५, ०५:५७ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ ।

निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनमा निर्वाचन सहजीकरणका लागि सात जना वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन संयोजक तोकेका हुन् ।

जसअनुसार कोशी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल र गण्डकीमा जगन्नाथ ढकाललाई जिम्मेवारी दिइएको छ । यस्तै, लुम्बिनीमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्यायलाई संजोजक तोकिएको समिति संयोजक खड्काले जानकारी दिए ।

उनले बिहीबार वडादेखि जिल्लासम्मका पार्टी संरचनाहरूलाई पत्र पठाएर निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृतहरूसँग आवश्यक समन्वय गर्न आग्रह गरेका छन्।

केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते गाउँ–नगर वडा अधिवेशन तोकेको छ । समितिले स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्नुपर्ने भनेको छ । यस्तै, असोज ७ मा गाउँ–नगर अधिवेशन र असोज १० मा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तोकिएको छ ।

कांग्रेसले यसअघि नै असोज १६–१९ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरिसकेको थियो ।

निर्वाचन समितिले पठाएको पत्रमा बाढी प्रभवित रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्न भनिएको छ । कांग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन १५ औं महाधिवेशनपछि गर्ने बताइएको छ ।

कमेन्ट लोड गर्नुस