सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अपेनद्वारा प्रारम्भिक बालशिक्षकका लागि फोेनिक्ससम्बन्धी कार्यक्रम आयाेजना

२०८३ भदौ २५, ०८:२५ खबर संवाददाता

धनगढी: प्रारम्भिक तहमा बालबालिकाको भाषा सिकाइ र उच्चारण सुधारमा केन्द्रित अंग्रेजी तथा नेपाली फोेनिक्ससम्बन्धी कार्यक्रम धनगढीमा सम्पन्न भएको छ।

एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) कैलालीको आयोजनामा भएको कार्यक्रममा प्रारम्भिक बालशिक्षामा फोेनिक्स विधिको प्रयोग, सही उच्चारण तथा भाषा सिकाइलाई सहज बनाउने विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा एपेनकी केन्द्रीय महासचिव सम्झना बस्नेतको सहभागिता रहेको थियो। एपेन कैलालीका अध्यक्ष शंकरबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय भूगोल उपाध्यक्ष सुजितराज शर्मा प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा एपेन सुदूरपश्चिम प्रदेश अध्यक्ष मोहनराज ओझा, प्रदेश सचिव सुरेन्द्र बोहरा, कञ्चनपुर जिल्ला अध्यक्ष सरस्वती चन्दा भट्ट, प्रदेश कोषाध्यक्ष भोवी कटुवाल तथा एनप्याब्सन नगर अध्यक्ष रमेश सिंहलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कैलालीका करिब ३० विद्यालयका शिक्षक तथा प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रशिक्षणका क्रममा शिक्षकहरूलाई फोेनिक्स शिक्षण विधि, यसको प्रयोग र कक्षाकोठामा बालबालिकालाई प्रभावकारी रूपमा सिकाउने तरिकाबारे जानकारी दिइएको थियो।

बालबालिकाले अंग्रेजी तथा नेपाली भाषा सिक्दा देखिने उच्चारणसम्बन्धी समस्या कम गर्दै भाषा सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एपेन कैलालीले जनाएको छ।

अपेनले प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता विकास तथा नयाँ शिक्षण विधिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस