सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका निजी विद्यालयमा योग साधना गराइने

२०८० मंसिर ९, ०१:३० खबर संवाददाता

धनगढीः कैलाली प्याब्सनमा आवद्ध विद्यालयमा नियमित योग साधना हुने भएको छ। प्याब्सन अन्तर्गतका जिल्लाका विद्यालयमा बालबालिकालाई योग साधना सिकाइने प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले बताए। शनिवार धनगढी शिवपुरी धाममा ३६ दिने योग सह–शिक्षक तालिमको समापन कार्यक्रममा बोल्दै धनगढीको कैलाली विद्यान निकेतनका संस्थापक प्रिन्सिपल समेत रहेका अध्यक्ष शाहले प्याब्सन अन्तर्गतका २१३ विद्यालयमा नियमित योग सिकाउने वातावरण निर्माण गर्ने बताएका हुन्।

उनले प्याब्सन कैलाली र आफ्नो विद्यालयको तर्फबाट पतञ्जलि वेलनेस सेन्टर निर्माण गर्न सक्दो सहयोग गर्ने बताए। प्याब्सन अन्तर्गत सञ्चालित धनगढीका विभिन्न १९ वटा विद्यालयका संस्थापक, प्रिन्सिपल र शिक्षकहरूले ३६ दिने सह–योग शिक्षक तालिम लिएका हुन्।

तालिम समानको अवसरआ आयोजित कार्यक्रममा प्याब्सन कैलालीका उपाध्यक्ष पदम साउँदले योग प्रशिक्षक तालिमबाट व्यक्तिगत लाभ भएको र तालिममा सिकेको कुरालाई विद्यालयमा अभ्यासमा ल्याउने बताए। उनले योगका माध्यमबाट शारीरिक, मानसिक र आध्यात्मिक लाभ हुने भएकाले विद्यालयमा योग साधनाको अभ्यास विद्यार्थीहरूलाई गर्न लगाउने बताए।

कार्यक्रममा बोल्दै धनगढीको द गार्डनर स्कुलका संस्थापक प्रिन्सिपल कैलाश दाहालले २६ दिने तालिम महत्त्वपूर्ण  रहेको बताए। उनले योग प्रशिक्षण लिएपछि  विद्यालयमा योग सिकाउन सहज हुने र प्याब्सन अन्तर्गतका सम्पूर्ण विद्यालयमा विद्यार्थीहरूलाई योग सिकाउने वातावरण तयार गरिने बताए। प्याब्सनका पूर्व केन्द्रीय सदस्य समेत रहेका दाहालले धनगढीमा निर्माण हुन लागेको पतञ्जलि वेलनेस सेन्टरका लागि आफ्नो विद्यालयको तर्फबाट आर्थिक सहयोग समेत गर्ने बताए।

कार्यक्रममा बोल्दै पतञ्जलि योग समिति, कैलालीका युवा प्रभारी सुभाष बमले सबै बालबालिकालाई विद्यालयमा योग सिकाउने र उनीहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक लाभ लिने वातावरण निर्माण गर्न तलिम लिएका शिक्षकहरूको भूमिका अहम् हुने बताए। प्याब्सन धनगढीका सचिव लोकराज पन्तले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले गरेका थिए भने प्रमुख अतिथि पतञ्जलि योग समितिका नगर महिला प्रभारी रमा जोशी थिइन्।

हवन गरेर समापन गरिएको कार्यक्रममा पतञ्जलि योग समितिका सुदूरपश्चिम सल्लाहकार गौरीप्रसाद नाथ, सञ्चार प्रभारी बली कार्की, संगठन मार्गदर्शक हेमन्त ओझा, धनगढी नगर प्रभारी धर्मराज कोइराला, नगर महामन्त्री कुलराज उपाध्याय, महिला महामन्त्री सुमन ओलीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा योग प्रशिक्षण कार्यक्रम सञ्चालनमा योगदान गरेको भन्दै योग प्रशिक्षक एवं नगर सञ्चार प्रभारी नारायणदत्त अवस्थी र योग प्रशिक्षक पुष्पराज अवस्थीलाई सम्मान गरिएको थियो।

कमेन्ट लोड गर्नुस