सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भीमदत्तको सालिक तोडफोड

२०८० मंसिर ८, ०५:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भीमदत्त पन्तको सालिक तोडफोड गरिएको छ। जिल्लाको सदरमुकाम महेन्द्रनगरस्थित पार्कमा रहेको भीमदत्तको सालिक तोडफोड गरिएको हो।

महेन्द्रनगरमा गणतन्त्रको विरोधमा प्रदर्शनमा उत्रिएको समूहले भीमदत्त पार्कमा रहेको भीमदत्त पन्तको सालिकमा तोडफोड गरेको छ। अहिले भीमदत्त पार्क नामाकरण गरिएको उक्त पार्क राजा महेन्द्रले निर्माण गरेको भन्दै उनीहरूले सालिकमा क्षति गरेका हुन्।

प्रहरीले राप्रपाको राष्ट्रिय युवक संगठनका नरेश कार्कीलाई पक्राउ गरेको छ। भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न अन्य राप्रपाका नेता कार्यकर्ता पक्राउका लागि प्रहरी टोली परिचालन भएको छ। जिल्ला प्रहरी कार्यालययले सालिक तोडफोड भएपछि तीन जना प्रहरी निरीक्षकको नेतृत्वमा महेन्द्रनगर बजार र राप्रपा पार्टी कार्यालयमा टोली परिचालन गरेको हो।

पार्क मोडमा कोण सभा समापन भएपछि कार्कीलाई पक्राउ गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ। पार्कमा सालिक तोडफोड भएपछि प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।

पार्कको गेटमा लेखिएको भीमदत्त पार्क मेटाएर महेन्द्र पार्क समेत लेखेका छन। ‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको बौद्धिक, सनातन हिन्दु राष्ट्र पूर्वस्थापना अभियान’ले आज आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राजतन्त्रको समर्थनमा नारा लगाएका थिए। प्रदर्शनमा सहभागीहरू ‘राजतन्त्र जिन्दाबाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, गणतन्त्र मुर्दावाद, नारायणहिटी खाली गर जस्ता नारा लगाउँदै अगाडि बढेका थिए। गणतन्त्र विरोधी नारा लगाउँदै मदनचोक हुँदै महेन्द्रनगर बजारभरी नाराबाजी र प्रदर्शन गरेका थिए।

 

कमेन्ट लोड गर्नुस